शेयर बजारमा लगानी गर्न उपयुक्त समय छ ः अर्थमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउनुपर्ने भएकाले शेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई आह्वान गर्नुभएको छ।

कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सवमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै उहाँले वर्तमान समय शेयर बजारमा लगानी बढाउने अनुकुल समय रहेको दाबीसमेत गर्नुभयो। राजनीतिक स्थायित्वका कारण मुलुकको आर्थिक गतिविधि बढेको भन्दै उहाँले शेयर बजारमा लगानी गर्न अहिले उपर्युक्त समय भएको बताउनुभयो।

उहाँले भन्नुभयो–‘अहिले बैंकको नाफा बढिरहेको छ, वित्तीय प्रणाली सबल भइरहेको छ, राजनीतिक स्थायित्व भएको छ, करको समस्या समाधान भएको छ, यति भएपछि अब दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने यो उपयुक्त समय हो, यसमा सार्वजनिक संस्था सक्रिय भएर लाग्न अनुरोध गर्दछु।’

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानीकर्ताहको विश्वास बढाउनुपर्ने अवस्था रहेको भन्दै मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न वित्तीय संस्थालाई निर्देशन दिनुभयो।

उहाँले शेयर बजारमा लगानीकर्ताको विश्वास बढाउनका लागि दोस्रो बजारका खेलाडीले खेल्ने यो उपयुक्त समय भएको समेत उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले शेयर बजारमा दीर्घकालीन प्रकृतिका पूर्वाधार निर्माण गर्न कर्मचारी सञ्चय कोषको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

उहाँले प्राथमिक बजारमा कोषको भूमिका महत्वपूर्ण हुने भएकाले त्यही अनुसार लाग्न पनि आग्रह गर्नुभयो।
‘दोस्रो बजारमा तपाईहरु जान अहिले कानूनले दिँदैन, त्यहाँ नागरिक लगानी कोष जस्ता संस्थाहरुले भूमिका खेल्नुपर्छ।

हामीलाई चाहिने स्वपुँजी पाउने भएकाले प्रयास गरेर नै भए पनि पुँजी बजारको विकास गर्नैपर्छ,’ उहाँले बताउनुभयो।

उहाँले लगानीकर्तालाई शेयर बजारमा आकर्षित गर्नको लागि कर्मचारी सञ्चय कोष जस्ता सरकारी तथा सार्वजनिक संस्थाहरुले शेयर बजारमा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो।

‘५८ वर्ष उमेर त्यति धेरै होइन, उहाँले भन्नुभयो–‘५८ वर्षमा मान्छेमा धेरै काम गर्न सक्ने ऊर्जा रहिरहन्छ, त्यसैले तपाईंहरु बुढो हुनुभएको छैन, द्रव्य कोष जोडेर ८४–८५ उमेरको भएँ भन्न पाउनुहुन्न, तपाईहरुले अझै धेरै सिक्नु छ।’

उहाँले शेयर बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
अर्थमन्त्री डा. खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रूपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले कोषजस्ता दीर्घकालीन सम्झौतित बचत गर्ने संस्थाको लगानी शेयर बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने कुरा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्