अफगानिस्तानमा चुनाव र्याली लक्षित आत्मघाती विस्फोट



काबुल, (एजेन्सी)। अफगानिस्तानमा एउटा चुनावी र्यालीलाई लक्षित गरी मंगलबार भएको आत्मघाती बम विस्फोटनमा कम्तिमा २४ जना मानिसको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन्।

राजधानी काबुलदेखि उत्तरमा पर्ने पारवान प्रान्तमा आयोजित उक्त र्यालीमा राष्ट्रपति असरफ घानीले सम्बोधन गरिनु केही समयअघि आक्रमण भएको हो।

त्यसैगरी काबुलका मध्यभागमा अवस्थित अमेरिकी दूतावासमा भएको अर्को विस्फोटनमा कम्तिमा तीनजना मानिसको ज्यान गएको छ।

अहिलेसम्म दुवै आक्रमणका लागि कुनै पनि समूहले जिम्मेवारी लिइसकेको छैन। शान्तिवार्तामा पनि सहभागिता जनाउँदै गरेको लडाकू तालिवान समूहले बम आक्रमण अभियानलाई पनि निरन्तरता दिइरहेको छ।

यसै महिनाको शुरुमा मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसंगको वार्ता मृत अवस्थामा पुगेको प्रतिक्रिया दिएका थिए।

त्यसैगरी तालिवानले यही २८ सेप्टेम्बरमा तय भएको अफगानिस्तानको राष्ट्रपतीय चुनाव बिथोल्ने प्रतिबद्धता जनाएको छ।

पारवान प्रान्तको राजधानी चारिकारमा चुनावी र्यालीमा भएको यस बमकाण्डमा अन्य ३१ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

उक्त र्यालीस्थलको चेक प्वाइन्टमा मोटरसाइकलमा आएका एक अज्ञात व्यक्तिले विस्फोट गराएका थिए। मारिनेमा बालबालिकाहरु पनि रहेको अस्पताल सूत्रले बताएको छ।

पाँच वर्षीय दोस्रो कार्यकालको अपेक्षामा रहेका घानीलाई कुनै पनि चोटपटक नलागेको बुझिएको छ। गत १८ अगस्टमा काबुलमा एउटा विवाह समारोह भएको बम आक्रमणमा १ सय १२ जनाको ज्यान गएको थियो।

अफगानिस्तानको ७० प्रतिशत भू–भागमा तालिवान सक्रिय रहेको छ। गत जुनमा ग्लोबल पिस इन्डेक्सद्वारा प्रकासित सूचीमा अफगानिस्तानलाई विश्वकै सबैभन्दा कम शान्ति भएको मुलुकको दर्जा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्