साउदी तेल केन्द्रमा भएका आक्रमणप्रति नेटोद्वारा चिन्ता व्यक्त



ब्रसेल्स, (एजेन्सी)।उत्तर अटलान्टिक सन्धि संगठन (नेटो)ले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा हालै भएको भीषण आक्रमणका कारण तनाव बढिरहेकोमा चिन्ता व्यक्त गरेको छ।

नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन्– ‘इरान पुरै क्षेत्रमा अस्थिरता फैलाइरहेको छ। हामी सबै पक्षसँग यस प्रकारको हमला पुनः हुन नदिन भनिरहेका छौं।

यसअघि अमेरिकाले केही स्याटलाइट तस्वीर जारी गर्दै इरानमाथि उक्त आक्रमणमा संलग्नता रहेको आरोप लगाएको थियो। तर इरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग युद्धको पक्षमा नरहेको बताएको ≈वाइट हाउसमा पत्रकारहरुलाई बताएका थिए। तर अमेरिका कुनै पनि संघर्षका लागि तयार रहेकोमा उनले जोड दिएका थिए।

यसबीच इरानका राष्ट्रपति हसन रुहानीले टर्कीको राजधानी अंकारमा रुस र टर्कीका नेताहरुसँग भेटेका छन्। हसन रुहानीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रहरुमा यमनका जनताले आत्मरक्षाका लागि ड्रोन हमला गरेको बताए।

उनले भने– ‘यमनका जनता आत्मरक्षाका लागि आफ्नो वैधानिक अधिकारको प्रयोग गरिरहेका छन्। आक्रमण दुबै तर्फबाट भएको छ र समाधान यी हमलालाई रोक्नु हो। यमनको संकटको समाधान पनि राजनीतिक हुनुपर्छ। हाम्रो यही मान्यता हो।

यमनका हुथी विद्रोहीले शनिबार भएको ड्रोन हमलाको जिम्मेवारी लिएका थिए। उक्त हमला हुनु अगाडि साउदी अरेबियाको नेतृत्वमा यमनको हुथी विद्रोहीहरुमाथि बमबारी भइरहेको थियो।

हुथी विद्रोहीका प्रवक्ताले ड्रोन हमलाबाट उसको बमबारीको बदला लिएको बताएका थिए।उक्त आक्रमणमा इरानको पनि भुमिका रहेको र हुथी विद्रोहीको प्रविधि इरानसँग मेल खाएको अमेरिकाले जोड दिएको छ।

शनिबारको उक्त हमलाको पछाडी इरानको हात रहेको गुप्तचरबाट जानकारी पाएको अमेरिकाले जनाएको छ।
तेलको मूल्य आकासियो

साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएका आक्रमणले उसको दैनिक तेल उत्पादनमा आधा घटेको छ। यसले विश्व तेल उत्पादनमा ५ प्रतिशतले कमी आउने बताइएको छ।

साउदी अरेबियाको तेल उत्पादनमा ५७ लाख ब्यारेलले कमी आएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको प्रतिब्यारेल मूल्यमा १२ डलरले बृद्धि भई ७१ डलर पुग्योे। यो प्रतिब्यारेल २० प्रतिशतले बृद्धि हो।

यो २८ वर्षको अवधीमा एकैदिनमा तेलको मूल्यमा आएको सबैभन्दा धेरै बृद्धि हो। यद्यपि केही समयपछि नै ६ डलरको बृद्धिमा सिमित हुँदै १० प्रतिशतमा झरेको थियो।

विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरेबियाको अरामकोका दुई परियोजनामा यमनका हुथी विद्रोहीले गरेको आक्रमणले विश्व तेल बजारमा ठूलो उथलपुथल ल्याएको छ।

आक्रमण अगाडि ९८ लाख ब्यारेल तेल प्रतिदिन उत्पादन गर्दै आइरहेको साउदी अरेबियाको क्षमता करिब ५० लाखमा सीमित हुन पुगेको छ। साउदी अरेबियाले चाँदै नै स्थितिलाई नियन्त्रण लिने र पुरानै स्थितिमा फर्कने जनाएको छ।

आवश्यक परे इमर्जेन्सी स्टोरका प्रयोग गर्नेछौं ः ट्रम्प

यसबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमा आवश्यक परेमा आपत्कालिन तेल भन्डारको प्रयोग गर्न अनुमति दिएको उल्लेख गरेका छन्। तेलको मूल्यमा असर पर्न नदिन आपुर्तिमा कमी आउन नदिन उक्त निर्णय लिएको जनाएको छ।

साउदी अरेबियामा एक महिनामा स्थिति सामान्य नहुने हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ सय डलर प्रतिब्यारेल नाघ्न सक्ने अनुमान गरिएको छ। ७ दिन मात्र आपूर्तिमा कमी आएमा कच्चा तेलको मूल्य १५ देखि २० डलर प्रतिब्यारेल महँगो हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्