मतदाता नामावलीमा दाबी विरोध बुधबारदेखि



नेपाल समाचारपत्र,बैतडी। आगामी मंसिर १४ गते उप–निर्वाचन हुने बैतडीका विभिन्न स्थानीय तहका ३ वटा वडाका मतादाताको नामावलीमाथि दाबी विरोध बुधबारदेखि हुने भएको छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार बुधबारदेखि असोज ६ गतेसम्म निर्वाचन हुने सम्बन्धित वडा कार्यालयमा नामावली दाबी विरोधको कार्यक्रम सञ्चालन हुने भएको छ।

उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका वडा नं ४, सुर्नया गाउँपालिका वडा नं १ र पुर्चौडी नगरपालिका वडा नं ४ को मतदाता नामावलीमा दाबी विरोध हुने बैतडीका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो।

मतदाता नामावलीको दाबी विरोधमा मतदाताले आफ्नो नाम ठेगाना सच्याउन सक्नेछन्। उक्त समया मृत्यु भइसकेका व्यक्ति तथा बसाइ सरेर गएका मतदाताको नाम हटाउने कार्य गरिने फुयाँलले बताउनुभयो।

दाबी विरोधपश्चात उक्त वडाको अन्तिम मतदाता नामावली असोज १० गते निर्वाचन आयोगमा पठाइनेछ।
यसरी प्राप्त मतदाता नावालीलाई निर्वाचन आयोगले अन्तिम रुप दिएर पठाउनेछ।

हाल दोगडाकेदार गाउँपालिका वडा नं ४ मा १ हजार ८ सय ८, सुर्नया गाउँपालिका वडा नं १ मा ६ सय १९ र पुर्चौडी नगरपालिका वडा नं.४ मा १ हजार ९ सय ४० मतदाता रहेका छन्। यी वडामा वडा अध्यक्षको पद रिक्त भएकोले अगामी मंसिर १४ मा उप–निर्वाचन हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्