कांग्रेसले विगतको गल्तीबाट पाठ सिक्दै अघि बढ्नुपर्ने



हेटौंडा, (नेस)।नेपाली कांग्रेस प्रदेश–३ संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव हुने बताउनुभएको छ।

बानियाँले वर्तमान व्यवस्था टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकारको दम्भ र केही उद्धन्डताका कारण लोकतन्त्र नै धरापमा पर्ने दाबी गर्नुभएको हो।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ (ख) को आयोजनामा दोस्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा भएको अन्तक्रियामा नेता बानियाँले कम्युनिस्ट शासनको नेपाली कांग्रेसले २ वर्षसम्म ‘पर्ख र हेर’ को सिद्धान्त अवलम्बन गर्दै सहेर बसेको तर अब यस्तै रवैया रहिरहे सशक्त प्रतिकार र खबरदारी गर्ने बताउनुभयो।

नेता बानियाँले दोस्रो चरणको जागरण अभियानमार्फत वर्तमान सरकारका नेताले निर्वाचनका बेला गरेका प्रतिबद्धता र हाल गरिरहेको कामको वास्तविकताबारे जनतालाई जानकारी गराउँदै कांग्रेसले गरेका महत्वपूर्ण कामका बारेमा टोलटोलमा पुगेर सुसूचित गराउन अगुवा नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।

कार्यक्रममा क्षेत्र नम्बर–१ को (ख) अन्तर्गत हेटौंडाका १२ वटा वडाका सभापति एवम् प्रतिनिधिले कांग्रेसका नेताले गुट–उपगुट, झुन्ड र नातावाद त्यागे कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका थिए।

कांग्रेस मकवानपुर क्षेत्र–१ को (ख) का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षतामा भएको अन्तक्रियामा सहभागी वडाका सभापति तथा प्रतिनिधिले कम्युनिस्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भन्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पुर्याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने लगायत विषयमा सुझाबसहित प्रतिवेदन बुझाएका थिए।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टी प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर–१ का सभापति दामोदर खनाल, क्षेत्र–१ (ख) का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघ केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, ६ नम्बर वडा अध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघ सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, नेतृ लक्ष्मी थिङले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा गर्नुपर्ने कार्यबारे सुझाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्