दोलखामा रेड पाण्डाको प्रजनन केन्द्र बनाउन परामर्श



????????????????????????????????????

चिरञ्जीवी मास्के, दोलखा। दोलखामा हाब्रे अर्थात् रेड पाण्डाको प्रजनन केन्द्र विकास गरिने भएको छ। यसको लागि गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको उच्च हिमाली क्षेत्रलाई रेड पाण्डाको प्रजनन केन्द्रको रूपमा विकास गर्न परामर्श शरू गरेको छ।

दोलखाको हिमाली क्षेत्रमा रेड पाण्डाको संख्यामा वृद्धि हुँदै गएको र मानव बस्ती आसपास समेत रेडपाण्डा देखिन थालेपछि प्रजनन केन्द्रको बारेमा परामर्श शुरू गरिएको संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनुभयो।

केहीसमयअघि दोलखाको गौरीशङ्कर गाँउपालिका–७, मार्वु छोकुममा निर्माणाधीन सडकमा हिँडिरहेको अवस्थामा स्थानीयले रेड पाण्डालाई भेटेका थिए। यसरी बस्ती आसपास रेडपाण्डा देखिनुले यसको संख्यामा वृद्धि भएको संकेत गरेको स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ।

‘विगतमा यसरी रेड पाण्डालाई खुलेआम हिडेको देखेको थिइन,’ पासाङले भन्नु भयो– ‘सडक निर्माणका क्रममा मानिसको नजिकबाट आरामसँग रेड पाण्डा हिँडेको देख्दा यसको संख्यामा वृद्धि भएको अनुमान गर्न सकिन्छ।’

झन्डै ३ हजार ५ सय मिटरको उचाइमा रहेको मार्वुको छोकुम क्षेत्रमा उल्लेख्य मात्रामा रेडपाण्डा रहेको अनुमान स्थानीयको छ।

भालु प्रजातिमा पर्ने रेडपाण्डा अत्यन्त लजालु जनावर हो। मानव बस्ती र गाडी गुड्ने सडकमा रेड पाण्डा भेटिनु संयोग मात्र हुनसक्ने पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. नारायणप्रसाद कोजू बताउनुहुन्छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान कार्यक्रमको क्रममा दोलखाको उच्च हिमाली भेगमा लामो समय बस्नु भएका डा. कोजु दोलखाको उच्च भेगमा रहेको रेड पाण्डाको बासस्थानलाई प्राकृतिकरूपमा संरक्षण गरी रेड पाण्डा प्रजनन केन्द्र सञ्चालन गर्न सकिने बताउनुहुन्छ।

तर रेड पाण्डा लजालु जनावर भएकोले बन्द घरमा राखेर प्रजनन् केन्द्र बनाउन भने कठिन हुने डा. कोजूको भनाइ छ। समुन्द्र सतहबाट २ हजार २ सयदेखि ४ हजार मिटरसम्मको उचाइमा रहने रेड पाण्डा रुखमा बस्ने र किरा फट्याङ्ग्रा तथा कमलो निगालो खाने गर्छ।

रातो, सेतो, कालो रङ्गको सानो आकर्षक रेडपाण्डा अधिकतम सात–आठ केजीसम्मको हुने डा. कोजू बताउनुहुन्छ।
रेड पाण्डाको प्रजनन समय चैत्र वैशाख महिना हो।

गर्भावस्था भएको ३ महिनामा रेड पाण्डाले बच्चा जन्माउने गर्दछ। एउटा रेड पाण्डाले एक पटकमा दुईवटासम्म बच्चा जन्माउने डा. कोजू बताउनुहुन्छ।

दोलखामा रेड पाण्डाको प्रजनन केन्द्र बनाउने हो भने प्रजनन हुने समय वैशाख जेठ र बच्चा जन्माउने समय असार साउनमा रेड पाण्डाको बासस्थान आसपास मानिसको प्रवेश निशेध गर्ने र रेड पाण्डालाई आवश्यक पर्ने खाने कुराको व्यवस्थापन गरिदिनु पर्ने डा. कोजू बताउनुहुन्छ।

रेड पाण्डालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित स्तनधारीको रूपमा सूचीकृत गरिएको छ भने साइटिसको अनुसूची १ र आईयूसीएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सूचीकृत गरिएको छ।

दोलखा जिल्लामा विगतमा थोरै संख्यामा रहेको रेडपाण्डाको संख्या गौरीशङ्कर संरक्षण क्षेत्र बनेपछि क्रमशः बढ्दै गएको र अहिले ५०–६० वटा पुगेको अनुमान गरिएको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख शाह बताउनुहुन्छ।

दोलखाको उच्च हिमाली भेगमा रेडपाण्डको प्रजनन केन्द्र बनाउन सकिए यसको संरक्षणमा महत्वपूर्ण टेवा पुग्न सक्ने प्रमुख शाह बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्