पानीको अभावमा सार्वजनिक शौचालय प्रयोगविहीन



नेपाल समाचारपत्र, जाजरकोट। खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको जिल्ला जाजरकोटमा निर्माण भएका सार्वजनिक शौचालय सरोकारवाला निकायले ध्यान नदिँदा प्रयोगविहीन भएका छन्।

जाजरकोट सदमुकामको तल्लो थाप्ले, गैरीखाली र शान्तिचौतारा वसपार्कमा निर्माण भएका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेका छैनन्।

गतवर्ष भेरी नगरपालिका–१३ लगायतका ठाउँमा निर्मित सार्वजनिक शौचालय पानीको समस्या देखाउँदै प्रयोगमा आउन नसकेको हो।

साविकका ३० वटा गाउँ विकास समितिको सदरमुकामलगायत जाजरकोट छिन्चु मोटर सञ्चालन भएपछि मानिसलाई शौच गर्ने सुबिधाको लागि साविकको खलंगा गाउँ विकास समितिले जाजरकोट सदरमुकामभित्र मानिसको भीड हुने स्थान तल्लो थाप्ले, गैरिखाली, शान्ति चौतारा बस पार्कमा सार्वजनिक शौचालय निर्माण गरेको हो।

मानिस बढी आवत–जावत गर्ने शान्ति चौतारा बसपार्कको सार्वजनिक शौचालय प्रयोगमा नआउँदा यात्रुले जथाभावी शौच गर्ने गरेका छन्।

यस्तो अवस्था रहिरहे बजार क्षेत्र फोहोर हुनुका साथै मानिस बिरामी हुने सम्भावना भएकोले भेरी नगरपालिका तथा स्थानीय प्रशासनले सार्वजनकि शौचालय प्रयोगको लागि पहल गर्नुपर्र्ने जाजरकोट यातायात प्रालिका इन्चार्ज आनन्द मल्लले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्