डेंगु परीक्षणको शुल्क १ हजार २ सय



यमलाल भुसाल, बुटवल।मेडिकल ल्याब्रोटरी एसोसियसन अफ नेपाल (मेलान) रुपन्देहीले आफ्ना सदस्य प्रयोगशालालाई डेंगु परीक्षणमा १ हजार भन्दा बढी नलिन आह्वान गरेको केही दिन बित्न नपाउँदै २ सय रुपियाँ शुल्क वृद्धि गरेको छ।

यसअगाडि मेलानले संस्थाले १ हजार रुपियाँ शुल्क निर्धारण गरिएको उल्लेख गर्दै त्यो भन्दा बढी लिने प्रयोगशालालाई कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसको हप्ता बित्न नपाउँदै मेलानले डेंगुको परीक्षण गरेको शुल्कमा २ सय रुपियाँ वृद्धि गरी १ हजार २ सय पुर्याएको हो।

मेलान रुपन्देहीले डेंगु परीक्षण शुल्कमा एकरुपता कायम गर्न र निर्धारित १ हजार भन्दा बढी शुल्न नलिन आग्रह गरेलगत्तै संस्थाका सदस्यको दवावमा केन्द्र, प्रदेश र जिल्ला समितिको बैठकले २ सय रुपियाँ शुल्क वृद्धि गरेको हो।

मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले मेलानले २०७१ सालमा शुल्क निर्धारण गर्दा आईजीजी, आईजीएम मात्रै परीक्षण गरिने र अहिले एनएस वान एजीसमेत परीक्षण गर्नुपर्ने भएकाले डेंगु परीक्षणको शुल्क वृद्धि गर्नुपरेको बताउनुभयो।

मेलानका केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्ला प्रतिनिधिको बैठक बसेर शुल्कमा पुनरावलोकन गरिएको उहाँले बताउनुभयो।

बैठकपछि मेलानका केन्द्रीय उपाध्यक्ष रमेश पाण्डे, केन्द्रीय सचिवालय सदस्य गुणनिधि खनाल, प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रुद्रबहादुर कार्की, रुपन्देही जिल्ला अध्यक्ष नारायण पौडेल र सल्लाहकार मनोज काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा डेंगु परीक्षण गर्दा आईजीजी, आईजीएम र एनएस वान एजी परीक्षण गर्न र १ हजार २ सय रुपियाँ भन्दा बढी नलिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्