विदेशी मेयरले भने– ‘काठमाडौंलाई सहयोग गर्छांै’



नेपाल समाचारपत्र, काठमाडौं। इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आएका अन्तरर्राष्ट्रिय नगरका प्रमुख–उपप्रमुख तथा प्रतिनिधिले महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेर आपसी हित र नागरिक सहभागिता बढाउने कार्यक्रमका विषयमा कुराकानी गरेका छन्।

यसरी भेट गर्ने प्रमुख तथा प्रतिनिधिलाई प्रमुख शाक्यले इन्द्रजात्रासँगै काठमाडौंमा भएका जीवन्त सांस्कृतिक सम्पदाका बारेमा आफ्ना नागरिकलाई सुनाउन आग्रह गर्नुभयो। जातजाति र भाषाभाषीको अन्तरघुलनबाट जीवन्त बनेको काठमाडौंमा, मनदेखि चाहेर जात्रा पर्व सञ्चालन हुन्छन्।

मेयर शाक्यले भन्नुभयो– ‘यहाँकै जस्तो गरेर संसारका विभिन्न ठाउँमा संस्कार चलेर गएका छन्। त्यहाँ पर्व मनाउँदा रमाइलोका लागि मनाइन्छ, यहाँ श्रद्धापूर्वक। यो जीवन्त सहरभित्र लुकेका रमाइला कुरा हामी आगन्तुकलाई देखाउँछौं।

भेटका क्रममा ल्हासाका मेयर गुहेओ गुहेओले इन्द्रजात्रा पर्व अलौकिक रहेछ। काठमाडौंमा धेरै कुरा राम्रा रहेछन्। मैले बुझेअनुसार काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनमा अझै समस्या छ। त्यो समस्या समाधान गर्न ल्हासा नगरकोतर्फबाट २ बटा फोहोर कम्प्याक्टर सवारी उपलब्ध गराउँछु।

काठमाडौं र ल्हासाको भगिनी सम्बन्ध स्थापना भएको १० वर्ष पुग्दैछ। ल्हासामा मेयरको भेटपछि चीनकै लाञ्जाउ कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ् सिओहाङ्ले मेयर शाक्यलाई भेट गर्नुभयो।

त्यस क्रममा उहाँले भन्नुभयो— ‘यो कार्यक्रममा आउन मेयरले इच्छा गर्नुभएको थियो। नगरको जरुरी काम भएकोले उहाँ आउन सक्नुभएन। उहाँले कार्यक्रम सफलता र सहयोग निरन्तरताका लागि पत्र पठाउनुभएको छ।’ उपाध्यक्ष ज्याङ्ले लाञ्जाउका मेयरले पठाउनुभएको पत्र महानगरका मेयरलाई प्रदान गर्नुभएको थियो।

कुमारी रथयात्रालगत्तै भएको भेटका क्रममा संयुक्त राज्य अमेरिकाको सिटी अफ फेडेरिकबर्गका तर्फबाट फेडरिकबर्ग काठमाडौं सिस्टरसिटी कमिटीका संयोजक तथा ग्लोवल पिस फाउन्डेसनका अन्तरराष्ट्रिय उपाध्यक्ष डेभिड लुइस कप्राराले मेयर शाक्यसँग भेट गर्नुभएको थियो।

सिटी अफ फेडरिककी प्रमुख म्यारी क्याथरिन ग्रीनले इन्द्रजात्रा हेर्न आउन नपाएकोमा दुःख लागेको जनाउँदै जात्रा सफल बनाउन शुभकामना दिएको पत्र मेयर शाक्यललाई प्रदान गर्दै कप्राराले अनुसन्धानमा आधारित सहरी विकास र शैक्षिक आदान प्रदानमा दुई नगरबीच साझेदारिताको सम्भावना रहेको बताउनुभयो।

सिटी अफ फेडरिकवर्गले युनिभर्सिटी अफ मेरी वासिङ्टनसँग मिलेर काम गरिरहेको छ। यता नेपालमा पनि काठमाडौं महानगरले त्रिभुवन विश्वविद्यालयसँग साझेदारिता गरेको थियो।

चीनको सेन्चेन नगरका प्रतिनिधिले प्रमुख शाक्यलाई भेटेर नगरको अन्तरराष्ट्रिय मामिला कार्यालयका उपमहा निर्देशक टाङ् स्युइङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मेयर शाक्यसँग भेट्दै सेन्जेनमा आउँदो वर्ष आयोजना हुने हाइटेक मेलामा सहभागी हुन निमन्त्रणा दिनुभएको थियो।

यसरी भेट गर्ने प्रतिनिधि मण्डलले इन्द्रजात्रा पर्वलाई जीवन्त पर्व भनेका थिए। एउटै पर्वमा अनेक गतिविधि, हरेक मानिसको सहभागिता, सबैको एउटै ध्यान, सबै उत्तिकै व्यस्त, यस्तो पर्व आफ्नो जीवनकालमा कहीँ देखेको थिएन, उनीहरूले भने।

प्रतिक्रिया दिनुहोस्