एनआरएनए इटालीको अधिवेशन सम्पन्न गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति



नेपाल समाचारपत्र, इटाली।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्यवय समिति इटालीको छैटांै अधिवेशन इटालीको पिसामा सम्पन्न भएको छ।

अधिवेशन संघ अध्यक्ष दीपेशकुमार रेग्मीको सभापतित्व, इटालीसमेत नियाल्ने स्वीजरल्यान्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीको विशेष आतिथ्यता रहेको थियो।

एनआरएनए इटालीका महासचिव छबिलाल कँडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष मनोजकुमार कार्कीले स्वागत मन्तव्य र कोषाध्यक्ष अशोक उप्रेतीले आर्थिक प्रतिवेदन पेस गरेका थिए। संघका सल्लाहकार रिचार्ड भण्डारीले २०१७–२०१९ को कार्यकाल पूर्णरुपमा सफल रहेको बताए।

सो अवसरमा राजदूत भट्टराईलाई इटालीवासी नेपालीका तर्फबाट एनआरएनए इटालीले स्वागत गर्नुका साथै नेपाली कन्सुलेट रोमको तर्फबाट कन्सुलर पाओलो नुगारीलाई नेपाली समुदायप्रति गरेको सहयोगको उच्च सम्मान गर्दै विशेष कदरपत्र प्रदान गरियो।

एनआरएनए इटाली २०१७–२०१९ को तर्फबाट अध्यक्ष दीपेशकुमार रेग्मीले आफ्नो कार्यकाल बारेमा ब्रिफिङ गर्दै कार्यकाल सफल पार्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी र इटालीवासी नेपालीप्रति धन्यवाद ज्ञापन गरेका थिए।

छैटौं अधिवेशन सफलताको लागि नेपाली एस्सो भेनिसको तर्फबाट प्रेसिडेन्ट राजन चापागाईं र एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवालले शुभकामना सन्देश दिएका थिए।

सोही अवसरमा छैटौं अधिवेशनका निर्वाचन संयोजक दिवस रेग्मीले सर्वसहमतिबाट निर्विरोधरूपमा २०१९–२०२१ का लागि देवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको अवगत गराए।

नयाँ कार्यसमितिको आईसीसी सदस्यमा दिपेशकुमार रेग्मी, अध्यक्षमा देवराज गुरुङ, उपाध्यक्षमा इन्द्रप्रसाद सुवेदी र छबिलाल कंडेल चयन भएका छन्।

त्यसैगरी महासचिवमा भवेशकुमार सिंह, कोषाध्यक्षमा अशोक उप्रेती, सचिवमा, सुदीप अधिकारी, महिला प्रतिनिधिमा भावा मल्ल, युवा प्रतिनिधिमा अर्जुन गौतम चुनिएका छन्। सदस्यहरूमा क्रमशः नारायण लामिछाने, कृष्ण सुवेदी र गुणराज अधिकारी चयन भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्