भक्तपुरमा डेंगु संक्रमितको संख्या १ सय ४६ पुग्यो



भक्तपुर, (नेस)।भक्तपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमितको संख्या हालसम्म १ सय ४६ जना पुगेको छ। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा हालसम्म १ सय ४६ जनामा डेंगु देखिएको बताउनुभयो। उहाँले डेंगुका बिरामीको उपचार पश्चात निको हुने क्रम बढेको बताउनुभयो।

भक्तपुरमा साउन महिनाको अन्तिम साता देखिएको डेंगु भदौको अन्तिम सातासम्म आइपुग्दा बिरामीको संख्या बढ्दै गएको छ। भक्तपुरमा डेंगुको महामारी फैलिएसँगै जिल्ला र ४ वटै स्थानीय तहले लामखुट्टे नष्ट गर्ने अभियान चलाएका छन्।

डेंगु रोग नियन्त्रण गर्न भक्तपुरका चारै नगरपालिका भक्तपुर, मध्यपुर ठिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्।

भक्तपुरमा गएको भदौ १३ गते पहिलोपटक डेंगु संक्रमित भेटिएको थियो। शुरूमै भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीमा डेंगु संक्रमण पुष्टि भएको थियो।

भक्तपुरमा डेंगु संक्रमित आउन थालेपछि भक्तपुर अस्पतालमा रेडक्रसको सहयोगमा परीक्षण किटको व्यवस्था गरिएको छ।

जिल्लामा डेंगुको संक्रमण भेटिएपछि जिल्लाभर रोग नियन्त्रण तथा रोकथाम अभियान जारी छ। भक्तपुरमा डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर जनस्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे लामखुट्टे नष्ट अभियान र जनचेतना अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्