कता मोडिँदै छ हाम्रो समाज ?



हाम्रो समाज कतातिर मोडिँदै छ ? समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ। पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसख्याको ५१ प्रतिशत जनसख्या महिलाको रहेको छ।

तर, पछिल्लो समय छारीहरूको जन्मदर छोराको तुलनामा कम देखिन थालेको तथ्य पनि सार्वजनिक भइरहेको छ। यो प्राकृतिक कारण नभई छारीको भ्रूणहत्याको कारण देखिन थालेका समस्या हो।

नेपालमा पछिल्ला वर्षहरूमा छोरीहरूको जन्मदर घट्दै गएको तथ्यांक बाहिर आएको छ।हाम्रो समाजमा बच्चा जन्मनेबित्तिकै विभेदहरू शुरू हुन्छ।

जुन बोटको जरा बेर्ना बेलामा नै आघात गरिन्छ भने त्यो ठूलो बन्न सक्दैन। त्यसै गरी समाजमा अहिले जुन किसिमले सामाजिक थितिहरू चल्दै आएका छन्, कस्तो मानसिकताको विकास गर्दै आएका छौं ? कस्तो संस्कारमा हुर्केका छौं ? त्यसको प्रभावले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। 

महिलाको दृष्टिमा हेर्दा समाजमा धेरै विभेदहरू छन्। भ्रूण पहिचान गरी हत्या गर्ने, जन्मिनेबित्तिकै मन अमिल्याउने, छोरी जन्मिई भनेर विभेद गर्ने, शिक्षादीक्षाको सवालमा विभेद, दाइजो नलाएको भन्दै ज्यूँदै जल्नुपरेका घटना पनि घट्दै आएका छन्।

जसलाई समाधान गर्नतिर न सरकार अग्रसर छ, न त हामी नै। जब हाम्रो मानसिकता नै कमजोर छ भने तब हामी जुनसुकै समयमा समस्याग्रस्त हुन सक्छौं। सानो आघात हुनेबित्तिकै उसको अस्तित्वमा प्रश्नचिह्न खडा हुन्छ।

सिंगो जीवन आश्रय र छायामा बिताउन हुँदैन भन्ने कुरामा महिला सचेत हुनै पर्दछ। मानवता नभएको नरपिचास मानसिकताको अन्त्य गर्न सक्ने सामाजिक थितिको विकास कसले गर्ने ?

छोरीहरूले कहिलेसम्म आफ्नै समाजसँग भाग्नुपर्ने हो ? कता जाँदै छ हाम्रो समाज ? दिनानुदिन महिला बलाकृत भएको, मारेर फालिएको घटना सार्वजनिक हुन्छन् तर न्यूनीकरण हुने संकेत देखिँदैन।

नेपालमा हरेक दिन ३ महिला बलात्कृत हुने गरेका छन् भने २ जना महिलामाथि बलात्कारको प्रयास हुने गरेको पनि तथ्याङ्क छ। समाजमा बढ्दै गइरहेको यो विकृतिप्रति को जिम्मेवार छ ?

राज्यको नागरिकप्रतिको दायित्व के हो ? यो घृणित व्यवहार र मानसिकताबाट समाजलाई कसरी उन्मुक्ति दिलाउन सकिन्छ भनेर कसले सोच्ने, खोजी गर्ने हो ?

समाजका यस्ता मानसिकता हटाउनतर्फ को जागरूप भएर लाग्ने ? हामी सरकार सरकार भनिरहँदा के नागरिकको राज्यप्रति उत्तरदायित्व हुँदैन ? नीच मानसिकताबाट कसरी मान्छे समाजलाई माथि उठाउने ?

बलात्कारका घटनाक्रम एउटा परम्परा जसरी अगाडि बढ्दै छ। छोरी भएर जन्मेकै आधारमा छोरीले आफ्नो अस्तित्व रक्षाको लागि कहिलेसम्म संघर्ष गर्नुपर्ने हो ?

यो अति नमिठो दानवीय प्रकृतिको अन्त्यको लागि सरकारले कस्ता नीति निर्माण गर्नुपर्छ ? भन्ने कुरामा सधैँ मतान्तर देखिन्छ। पछिल्लो समय त अभियुक्तलाई जन्मकैद हैन फासी नै हुनुपर्छ भन्ने जनमानसको माग रहेको देखिन्छ। के फासी समस्याको समाधान हुन सक्छ त ?

मानवताको सबैभन्दा ठूलो शत्रु प्रतिसोध नै हो। उसलाई त्यसले, त्यसलाई मैले मार्दै जानु समस्याको समाधान हुन सक्दैन। कडा नियम र कानुन चाहिन्छ। त्यो भन्दा ठूलो कुरा मान्छेमा मानवता र नैतिकता चाहिन्छ।

बहस किन चल्दैन नैतिकताको पाठ सिकाओस् भन्ने कुरामा ? हरेक बाबुआमाले आफ्ना छोराछोरीलाई असल मान्छे बनून्, राम्रो मान्छे बनून् भनेर चाहन्छन्।

यसका लागि सकारात्मक, ऊर्जाशील र क्षमतावान् नागरिक अग्रसर हुनै पर्छ। एउटा व्यक्ति किन यसरी आफ्नै समाजमा आफ्नै छोरी, बहिनीको निर्ममतापूर्ण व्यवहार गर्न चाहन्छ ?

के उसले आमछोरीलाई आफ्नो मानेर हेर्न सक्दैन ? तर किन हाम्रो समाजमा आफ्नै बाबुसँग पनि छोरीहरू सुरक्षित हुन नसकेको ?

अभाव नैतिकताको हो। अभाव सभ्यताको हो। अभाव शिष्टताको हो। अभाव मानवताको हो। अभाव सद्भावको हो। अभाव प्रेमको हो। अभाव सहिष्णुताको हो। एउटा मान्छेको लागि किन अर्को मान्छे सभ्य बन्न सक्दैन ?

कतातिर जाँदै छ हाम्रो समाज ? यही प्रश्न अहिले जटिल बनेको छ। समाज विकासको क्रम यसरी नै विकसित हुँदै जाने हो भने छोरी कसरी बाँच्न सक्छन् ?

तसर्थ आमनागरिकले समानताको विगुल फुक्दै गर्दा अन्याय र अपराधीकरण कसरी नियन्त्रण गर्ने भन्नेतर्फ सचेत हुन जरुरी छ। मान्छेले यस्तो घटिया व्यवहार किन गर्छ ? कसरी यसको रोकमथाम गर्न सकिन्छ भन्नेतर्फ हामी जुट्न जरुरी छ।

महिनावारी भएकै कारण किशोरीको छाउगोठमा नै अकालमा ज्यान जान्छ। महिलाहरूमा पनि चेतनास्तर बढाउनुपर्यो। अन्याय, अत्याचार, थिचोमिचो, भेद्भाव, झुट, पूर्वाग्रह, पक्षपातपूर्ण व्यवहार चुपचाप स्वीकार्नुहुँदैन।

सत्यको बाटोमा हिँड्ने, अन्यायको विरुद्धमा आवाज उठाउने कुरामा, स्वतन्त्रतापूर्वक बाँच्न पाउने कुरामा सचेत हुन जरुरी छ। पुराना कुविचार र कुसंस्कारलाई नयाँ कर्मले मात्र काट्न सक्छ।

त्यति मात्र नभई पुरुषले पनि समाजमा महिलामाथि हर्ने त्यस्तो खालको दृष्टिकोणको अन्त्य गरी सकारात्मक चिन्तनको विकास गर्नु अत्यन्तै जरुरी देखिन्छ।

– नम्रता भुजेल,
खरिबोट, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्