भर्जिनियामा चौधरीको विश्व काव्य यात्रा



गीतकार तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्य यात्राको दोस्रो चरणअन्तर्गत गत आइतबार अमेरिकाको भर्जिनियामा एकल कविता वाचन गरेका छन्।

कविता वाचनका माध्यमले प्रवासी नेपालीलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा–साहित्यको प्रचार–प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्यले आयोजना गरिएको एकल कविता वाचनमा कवि चौधरीले माया–प्रेम, राजनीतिक विसंगति, समाज र आजको मान्छेबारे करिब दुई दर्जन कविता सुनाएका थिए।

माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ।

प्रतिष्ठित उद्योगपति चौधरीले वन्दनास्वरूप आफ्नो कविता वाचनको शुरूआत गर्दै भने। एउटा प्रेमको कविता वाचन गर्ने क्रममा कवितात्मक शैलीमै उनको भावुकता यसरी पोखियो– ‘प्रेमलाई त्यति सजिलै व्यक्त गर्न सम्भव छैन।

के बिहानीको मिर्मिरेमा उदाउने सूर्यको स्वर्णिम किरणलाई शब्दमा व्यक्त गर्न सकिन्छ? के न्यानो घामलाई वा कालो सेतो बादललाई सजिलै वर्णन गर्न सम्भव छ?

जसरी वर्षात्का थोपाहरूलाई, फूलको सुगन्धलाई, इन्द्रधनुषी रङलाई, चराको चिरबिरलाई, बालकको अबोध मुस्कानलाई शब्दमा व्यक्त गर्न सकिन्न, त्यसै गरी प्रेमलाई सीमित शब्दमा व्याख्या गर्न सकिन्न। यो त एउटा शाश्वत भावना हो, जुन हाम्रो हृदयमा कहिल्यै नमर्ने गरी बसेको हुन्छ।’

भर्जिनियास्थित अन्तर्राष्ट्रिय कलाकार–मञ्चद्वारा आयोजित २०औं शृङ्खलाअन्तर्गत उनले आफ्ना केही नयाँकविता र लोकप्रिय गजल पनि सुनाएका थिए।

चौधरीले कविता वाचनकै क्रममा प्रवासमा बस्नेकै लागि लेखिएको म सन्देश लिएर आएको छु र आमा शीर्षकको कविता वाचन गर्दा स्रोता गम्भीर र विह्वल भएका थिए।

समारोहमा चौधरीका ९ भाषामा प्रकाशित काव्यकृति वसन्त र हिन्दी भाषामा प्रकाशित कविता संग्रह चाहतों के साये मेंको ११ अतिथिद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो। यो विशेष कार्यक्रम थियो।

सो अवसरमा कवि चौधरीले आफ्ना कृतिमा हस्ताक्षर पनि गरेका थिए। सोही समारोहमा चौधरीलाई विशिष्ट कविका रूपमा आयोजक अन्तर्राष्ट्रिय कलाकार–मञ्चले अभिनन्दन गरेको थियो।

नेपाली भाषा र साहित्यलाई आफ्नो विश्व काव्य यात्राका माध्यमले अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्नुका साथै समग्र नेपाली साहित्यको श्रीवृद्धि र विस्तारका लागि आफ्नो शिल्प, ज्ञान र साधनालाई अभिसिञ्चिन गर्दै, यस क्षेत्रमा उनले संस्थागत तथा आफ्ना कविताका माध्यमले पु¥याएको योगदानको कदरस्वरूप विशेष अभिनन्दन गरिएको थियो।

८ सेप्टेम्बरमा क्यानडाको टोरन्टो र ११ सेम्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आफ्नो काव्ययात्रा सम्पन्न गरेर कवि चौधरी विश्व काव्य यात्राको २०औं शृङ्खला प्रस्तुत गर्न भर्जिनिया पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्