आज सातौं विज्ञान दिवस



सातौं राष्ट्रिय विज्ञान दिवस मनाउन गठित मूल आयोजक समिति र उपसमितिहरूको मंगलबार सयुक्त बैठक बसेको छ।

मूल आयोजक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले विज्ञान दिवस मनाउन गरिएका कामका विषयमा समीक्षा र थप तयारीका लागि छलफल गरेको थियो।

विज्ञान दिवसमा विज्ञान विषयमा समाचार लेख्ने दुई पत्रकारलाई पुरस्कृत गरिनेछ। ‘विज्ञान प्रविधि र नवप्रर्वतन : सामाजिक आर्थिक रूपान्तरण’ भन्ने नारासहित दिवस मनाउने निर्णय गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्ष विज्ञान नीति पारित गरेको छ भने योगमाया आयुर्वेदिक विश्वविद्यालयको ऐनको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गरी सदनमा लैजाने तयारी गरेको छ। 

बैठकमा सहभागीहरूले विज्ञान दिवसका विषयमा आ–आफ्नो भनाइ राखेका थिए।

यसअघि सरकारी निकायले मात्रै यो दिवस मनाउँदै आएको भए पनि यस वर्षदेखि पहिलो पटक सरकारी, अर्धसरकारी, विभिन्न संघ/संस्था, अनुसन्धान प्रयोगशालालगायतका निकायसँगको सहकार्यमा सामूहिकरूपमा यो दिवस भव्यताका साथ मनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो।

 

राष्ट्रिय सभागृह, भृकुटी मण्डपमा हुने विज्ञान दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।विज्ञान दिवसका दिन विज्ञान, प्रविधि तथा नव–प्रवर्तनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरिने भएको छ।

दिवसमा इमर्जिङ टेक्नोलोजीसम्बन्धी युवा वैज्ञानिकहरूको प्रस्तुती पनि रहने सहसचिव सुवेदीले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयबाट विज्ञान विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने १४ विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो।

२०५३ सालमा विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना भएपछि विभिन्न कार्यक्रम गर्दै आएको छ।

सरकारले विज्ञान र शिक्षा मन्त्रालयललाई एउटै बनाएपछि बनेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवस मनाउँदै छ।

नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स (अस्कल) क्याम्पस स्थापना भएको दिन अर्थात् असोज १ गतेलाई विज्ञान दिवस मनाउन लागेको हो।

२०६९ साल मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले विज्ञान दिवस मनाउने निर्णय गरेसँगै २०७० साल असोज १ गतेदेखि विज्ञान दिवस मनाउन शुरू गरेको हो।

नेपालमा विज्ञानको विकासको अवस्थाबारे जानकारी लिँदा विसं २०३३ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना भएको थियो।

त्यसपछि विज्ञान प्रविधि क्षेत्रमा क्रियाशील सबै निकायबीच समन्वय गरी विज्ञान र प्रविधिसम्बन्धी काम गर्न २०३९ साल मंसिर २० गते तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) स्थापना भएको थियो।

उत्कृष्ट विद्यार्थी सम्मानित

दक्षिणकाली नगरपालिकाको टौदहमा हात्तीवन सामाजिक सेवा केन्द्रले २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले विद्यार्थीलाई केवल जय भगवती छात्रवृत्ति पुरस्कार वितरण गर्नुभयो।

काठमाडौंको दक्षिणी भेगका विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न स्व. अमृतमान श्रेष्ठ तथा पृथ्वीकुमारी श्रेष्ठद्वारा २०६८ सालमा स्थापित ‘केवल जय भगवती अविनासी कोष’ पुरस्कार वितरण गर्दै आएको छ।

संस्थाले २०७५ सालमा सामुदायिक विद्यालयबाट सर्वोकृष्ट हुने ५ विद्यार्थीलाई पुरस्कृत गरेको थियो। पुरस्कृतमध्ये सेतीदेवी माध्यमिक विद्यालय, सोखेलका ४ जना रहेका  छन्।

प्रमुख अतिथि बस्नेतले सो विद्यालयका नलिना श्रेष्ठ, विनय श्रेष्ठ, सन्देश श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

त्यस्तै खोकना जन माविका रूपेन्द्र तामाङलाई पुरस्कृत गरिएको छ।संस्थागत विद्यालयबाट सर्वोकृष्ट कार्डिनल बोर्डिङ स्कुलका छात्रा मुना ढकाल र छात्रतर्फका ग्रिनहिलका गगन बोहरालाई पुरस्कारबाट सम्मान गरिएको थियो।

पुरस्कृत विद्यार्थीलाई नगद तथा शब्दकोष पुरस्कार र प्रमाणपत्रबाट सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा हात्तीवन सामाजिक सेवा केन्द्रको छात्रवृत्ति सहयोगमा अध्ययन गरी एसईई परीक्षामा सफल भएका २९ विद्यार्थीलाई पनि उपहार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बस्नेतले गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिका लागिपरेको र हात्तीवन सामाजिक सेवा केन्द्रजस्ता संस्थाहरू र नगरपालिका मिलेर संयुक्तरूपमा कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले पुरस्कृत विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने संस्था, विद्यालय र नगरको नाम अझै माथि पुर्याउने गरी आगामी अध्ययन अघि लैजान सल्लाह दिनुभयो।हात्तीवन सामाजिक संस्थाले बिगत लामो समयदेखि दक्षिणकाली नगरपालिका क्षेत्रमा पुर्याएको कार्यको प्रशंसा गर्नुभएको थियो।

विशेष अतिथि नगरपालिकाका उपप्रमुख वसन्ती डंगोल तामाङले गुणस्तरीय शिक्षाको विकासमा सामाजिक संस्थाहरूको योगदान धेरै हुन्छ र विद्यार्थीमा व्यावहारिक ज्ञान दिने शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो।

दक्षिणकाली नगरपालिका क्षेत्रमा हात्तीवन सामाजिक सेवा केन्द्रजस्ता संस्थाहरू र नगरपालिकाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिने गरेको जानकारी दिनुभयो।

कार्यक्रममा पुरस्कृत विद्यार्थीमध्ये मुना ढकाल र विनय श्रेष्ठ, संस्थापकहरूका प्रतिनिधि प्राडा पुष्पा श्रेष्ठ, प्रधानाध्यापकहरू रमेश केसी, नानीराम बस्नेत, मनोज बस्नेत, केन्द्रका सचिव पदमराम थापाले आआफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार बस्नेतले धन्यवाद मन्तव्यसँगै संस्थापकहरूका बारेमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो।केन्द्रका अध्यक्ष प्रमी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रले विशेष गरी शिक्षा, स्वास्थ्य र कृषिक्षेत्रमा काम गर्दै आएको जानकारी गराउनुभएको थियो।

उहाँले नगरपालिकाबाट कुनै कार्यक्रम आएमा त्यसमा उक्त केन्द्र मद्दत गर्न सदा तयार रहेको मन्तव्य व्यक्त गर्नुभयो।

उहाँले केवल जय भगवती छात्रवृत्ति पुरस्कारका लागि स्थापना भएको अक्षयकोषको रकम एक लाख रुपियाँबाट वृद्धि भई पाँच लाख रुपियाँ पुगेको जानकारी गराउनुभयो। कार्यक्रमको सञ्चालन जयन्ती श्रेष्ठले गर्नुभएको थियो।

सात प्रदेशका १४ विद्यार्थी पुरस्कृत हुँदै

 

कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट भएका विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कृत गर्नेछ।

हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एक/एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

दिवसका अवसरमा विभिन्न संस्थाहरूको सहकार्यमा मन्त्रालयले ३० शीर्षकमा छुट्टाछुट्टै कार्यक्रम गर्नेछ।

विज्ञान हाजिरी जवाफ, निबन्ध, कविता, आर्ट, विज्ञान संवाद, एडभान्स टेक्नोलोजीसम्बन्धी प्रदर्शनी, महिलाहरूलाई रोबोटिक्स तालिम, सञ्चार माध्यमहरूमा विज्ञानसम्बन्धी परिसंवाद, सेमिनारलगायतका कार्यक्रम हुनेछन्।

विज्ञान तथा प्रविधि सचिव डा. सञ्जय शर्माले पछिल्लो समय विज्ञान प्रविधिको खोजमा बढ्दो युवाहरूको चासो र संलग्नताले नयाँ खोज र अनुसन्धानमा टेवा पुग्ने भएकाले विज्ञान दिवसलाई भव्यरूपमा मनाउन लागिएको जानकारी दिनुभयो।

विज्ञान दिवसमा विज्ञान विषयमा समाचार लेख्ने दुई पत्रकारलाई पुरस्कृत गरिनेछ। ‘विज्ञान प्रविधि र नवप्रर्वतन : सामाजिक आर्थिक रूपान्तरण’ भन्ने नारासहित दिवस मनाउने निर्णय गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्ष विज्ञान नीति पारित गरेको छ भने योगमाया आयुर्वेदिक विश्वविद्यालयको ऐनको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गरी सदनमा लैजाने तयारी गरेको छ।

विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने, युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण  सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्ने उद्देश्यले विज्ञान दिवस मनाउन लागिएको मूल समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो।

 

किन मनाउने
  •  विज्ञान र प्रविधिको क्षेत्रमा भएका नवीनतम खोज तथा आविष्कारका बारेमा सुसूचित हुने
  •  विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, निकाय तथा व्यक्तिहरूको समुचित विकास र उपयोगमा सहभागिता अभिवृद्धि हुने
  •  विज्ञान तथा प्रविधि क्षेत्रमा चासो राख्ने विभिन्न व्यक्ति तथा निकायलाई यस क्षेत्रमा प्रभावकारी ढंगले लागिरहन उत्प्रेरित गर्ने।
  •  विज्ञान र प्रविधिको महत्व र उपयोगका सम्बन्धमा जनचेतना जागृत गराउने
  •  आविष्कारसम्बन्धी अन्तक्र्रियाका लागि साझा मञ्च प्राप्त हुने।

प्रतिक्रिया दिनुहोस्