‘संस्कृति राष्ट्रिय पहिचानको सूत्र’



काठमाडौं, (नेस)।इन्द्रजात्राको अवसरमा झोछें सामुदायिक समाज तथा लकस म्हालासाला पुचःको आयोजनामा भएको दुईदिने झोछें महोत्सव सम्पन्न भएको छ। सो महोत्सव वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले राष्ट्रिय पहिचानका रुपमा स्थापित नेवाः संस्कृतिको रक्षा गर्न आफूहरू एकमत भएर लाग्ने बताउनुभयो।

त्यसै गरी कार्यक्रममा समाजवादी पार्टीका नेता पवित्र वज्राचार्य, सम्पदा अभियानकर्मी गणपतिलाल श्रेष्ठलगायतको मन्तव्य राख्नुभएको थियो।

त्यसै गरी प्रदेश नं ३ को प्रदेश सभाका सदस्य एवं विवेकशील नेपाली दलका नेता विराजभक्त श्रेष्ठले कार्यक्रममा बोल्दै राष्ट्रिय अस्तित्वमाथि विभिन्न शक्तिबाट बेलाबेला संकट आउन सक्ने भन्दै सँस्कृतिले मात्रै राष्ट्रिय अस्तित्व बचाउन भूमिका खेल्न सक्ने बताउनुभएको छ।

उहाँले भर्खरै समुदायविरोधी गुठी विधेयकको जनताले प्रतिरोध गरेको भन्दै गुठीबाट सञ्चालित राष्ट्रिय सम्पदाहरूको कर मात्र उठाएर सरकारले बेइमानी गरिरहेको पनि बताउनुभयो।

‘पश्चिममा देशहरू मकै र आलुका लागि लडिरहेका बेला हाम्रा पुर्खाहरूले पशुपतिमा सुनको छानो हाल्थे, पर्यटकका लागि पाटीपौवा बनाउँथे तर आजभोलि विभिन्न शक्ति नेपालीलाई जातीय र धार्मिक विखण्डनतर्फ धकेलिरहेका छन्’, सांसद श्रेष्ठले भन्नुभयो– ‘इन्द्रजात्रा नेवारको मात्र हैन, नेपालका कुनै पनि संस्कृति राष्ट्रिय पहिचानका सूत्र हुन्।’

हनुमानढोकाबाट वर्षेनी १७ करोडभन्दा बढी आम्दानी सरकारले गरेको तर उक्त सम्पदा र स्थानीयको हितका लागि थोरै अंश पनि खर्च नभएको भन्दै वक्ताहरूले आक्रोश पोखेका थिए।

देशमा संघीयता आइसकेको, स्थानीय र प्रदेश सरकारहरू कार्ययरत रहेकोमा स्थानीय सम्पदा संरक्षण र सञ्चालनको जिम्मा समुदाय र स्थानीय सरकारलाई दिनुपर्ने माग सांसद श्रेष्ठलगायतका वक्ताहरूले राखेका थिए।

समापन समारोहमा स्थानीय पुचः तथा खलःहरूले सांस्कृतिक समूहले मौलिक संगीत एवं मंगलधुन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्