महासेठलाई स्थायी समितिबाट हटाउन माग



नेपाल समाचारपत्र, काठमाडौं।पार्टी एकीकरणको प्रक्रियाले पूर्णता नपाउँदै नेकपाको २ नम्बर प्रदेश कमिटीको विवाद केन्द्रसम्म आइपुगेको छ।

पार्टी एकीकरणमा पार्टीको विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गर्नेलाई कारबाही गर्न माग गर्दै नेकपाका १६ जना केन्द्रीय सदस्यले पार्टीलाई ज्ञापनपत्र बुझाएका छन्।

पार्टीको अनुशासन उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत्प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रवीन्द्र बैठालगायत रहनुभएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत कार्य गरेको आरोप ज्ञापनपत्रमा उल्लेख गरिएको छ। १६ केन्द्रीय सदस्यले महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्