सुत्केरी बोकेको जिप नै बगायो



नेपाल समाचारपत्र, पर्वत। अविरल वर्षाका कारण रिठेखोलामा आएको बाढीले सुत्केरी बोकेको जिप बगाएको छ भने जिल्ला समन्वय समिति पर्वतको भवनसमेत भत्किएको छ।

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डमा पर्ने कुस्मा नगरपालिका–४ स्थित रिठेखोलाको कजवेबाट जिप बगाएको हो।

म्याग्दीको बेनीदेखि सुत्केरी महिलालाई उपचारका लागि पोखरा लिएर हिँडेको ध१ज ६६० नम्बरको जिप कजवेमा बगाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार खोलामा बाढी आएको देखेपछि यात्रु झारेर जिप मात्र पार गराउने क्रममा बगाएको हो।

चालकसमेत गाडी हिलोमा फसेपछि ज्यान जोगाउन भागेका थिए। यसले गर्दा मानवीय क्षति हुनबाट जोगिएको प्रनानी भट्टको भनाइ छ।

यसैगरि अविरल वर्षाका कारण जिल्ला समन्वय समिति पर्वतको भवन भत्केको छ। वर्षाका कारण जमिन भासिएपछि भवन भत्केको हो। उक्त भवन गएको असार ७ गते पनि वर्षाकै कारण भत्केको थियो।

सोमबार रातिको अविरल वर्षाका कारण त्यससँगै जोडिएको अर्को कोठा फेरि भत्किएको छ। जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले भवन पुराना र पानीको उचित निकास नभएकाले भत्कँदै गएको बताउनुभयो।

यस्तै सोमबार राति आएको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड सुचारु भएको छ।

वर्षाका कारण पहिरो जाँदा पर्वतको मोदी गाउँपालिका–४ भ्याप्लेमा र कास्कीको अन्नपूर्ण गाउँपालिकाको गिरीचोक तथा फेदीलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।

स्तरोन्नतिको क्रममा रहेको सडक खण्डमा गएको पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्