स्वास्थ्य सेवा विभागमा डा. पोखरेल नियुक्त



काठमाडौं, (नेस)। वरिष्ठ साइक्य्राटिक डा. रोशन पोखरेल स्वास्थ्यसेवा विभागको निमित्त महानिर्देशकमा नियुक्त हुनुभएको छ।

उहाँलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्त महानिर्देशकमा नियुक्त गर्नुभएको हो। उहाँले मंगलबार पदबहाली गरिसक्नुभएको छ।

स्वास्थ्य सेवा विभागको इतिहासमा डा. पोखरेल २५औं महानिर्देशक बन्नुभएको छ। तत्कालिन महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल भदौ २१ मा उमेरहदका कारण अनिवार्य अवकाश पाउनुभएको हो। डा.प्याकुरेलको अवकासपछि विभागको महानिर्देशक पद खाली थियो।

विभागको महानिर्देशकका लागि १२औं तहको प्रमुख विशेषज्ञ हुनुपर्ने प्रावधान रहेकोमा हाल उक्त पदमा कार्यरत कोही पनि नभएकाले ११औँ तहका डा. पोखरेललाई सिनियरका आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो।

डा. प्याकुरेल सेवानिवृत्त भएसँगै स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञविहीन छ।डा. पोखरेल लामो समयदेखि कोसी अञ्चल अस्पतालको निर्देशकका रूपमा काम गर्दै आउनुभएको थियो। कर्मचारी समायोजनपछि उहाँको मन्त्रालयमा नै सरुवा भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्