विदेश जाने सैनिकको तलब बढ्यो



दीपक रिजाल, काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न मुलुकमा शान्ति सैनिकका रूपमा खटिने नेपाली सेनाले पाउँदै आएको दैनिक भत्ता वृद्धि हुने भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति सेनामा सहभागी हुने नेपाली शान्ति सैनिकलाई प्रतिमहिना ८५ अमेरिकी डलर थप गर्ने घोषणा गर्नुभएको छ।

सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकले तल्लो दर्जा बन्दोबस्ती कार्य सिपाहीले यसअघि पाउँदै आएको १ हजार २९ अमेरिकी डलरमा ८५ थप गरी १ हजार १ सय १४ अमेरिकी डलर पुर्याइएको सैनिक मुख्यालयले जनाएको छ।

यसै गरी शान्ति मिसनमा नेपाली सेनाको गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीले पाउँदै आएको १ हजार ३ सय ७८ अमेरिकी डलरमा २१ अमेरिकी डलर थप गरी १ हजार ३ सय ९९ पुर्याइएको मुख्यालयले जनाएको छ।

मिसनमा सहभागी हुने सैनिको सुझावका आधारमा भत्ता वृद्धि गर्दा सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्ने भएको छ। उक्त निर्णय असोज १५ गतेबाट लागू हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्