झुपडी मुनिको बास, खानलाई छैन गास: एक्ला बृद्धलाई नयाँ घरको आस



सलिम मिया, प्यूठान। प्यूठान नगरपालिका ५ धाइरे गाउँमा एउटा सानो टिनले छाएको झुपडी छ । वरीवरी बाँसले बारेर बनाईएको त्यो झुपडी भित्र हेर्दा न लिपपोत छ, नत पकाएर खाने भाडाकुडा, नत अन्नपात नै, छ त केबल गुन्द्रीमाथि राखेको एकसेट कपडा । त्यही झुपडीमा ५१ वर्षिय डन बहादुर पुन (५१) को एक्लो दैनिकी बितिरहेको छ ।

भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन्।एक्लो डने सुनसान छाप्रोमा अभावको जिन्दगी गुजार्दैछन् । यहि छाप्रो पनि गाउँलेहरुले बनाईदिएको उनले सुनाए । ‘दुई–तिन पटक बिहे गरे तर, श्रीमती टिक्दैनन् छोरा बुहारीले पनि छुट्टाएर फाले अनि यही बुकुरो(छाप्रो)मा बस्दै आएको छु ।’ बिगत सम्झिदै उनी भन्छन्–करिब २ वर्ष देखि छोरा बुहारीसंग छुट्टै बस्दै आएको छु।’ आफुले कमाउने बेलासम्मको लगानी छोराछोरी माथि खन्याए पनि बुढेसकालमा एक्लीएर बेवारिसे जस्तै बन्नु परेको पुनले गुनासो गरे ।

‘हात पाखुरो लाग्दासम्म त काम गरेर पनि खान्छु’–गहभरी आशु ल्याउदै उनले भने–‘अब काम गर्ने उमेर ढल्किदै छ, न ओत लाग्ने छानो छ, नत बस्ने खानेको टुंगो ।’ बस्नको लागि घरसम्म भएपनि अझै केही समय त काम गरेर पनि खान सक्ने उनले बताए । परिवार बिर्साउने कुकुर परिवारको माया र साथ नपाएका डन बहादुरको साथमा केवल कुकुरको साथ छ । छिमेकी छविलाल पुनका अनुसार परिवारले बेवास्था गर्दा डन बहादुरको दैनिकी संकटमा परको हो । कुकुरले उनलाई असाध्यै माया गर्ने समेत उनले बताए ।

दिनभरको ज्यालाले खाना खाने र सडक पेटी बस्ने गरेको छिमेकीहरु बताउछन् । गाउँमा सबैले उनलाई डने पुन भनेर नै चिन्ने गर्दछन् । वडाबाट जस्तापाता सहयोग डन बहादुरको अवस्था दयनीय भएपनि वडाबाट जस्तापाता भन्दा केही सहयोग गर्न नसेकेको वडा अध्यक्ष लछुमन भण्डारीले बताए । आफु घरमै भएको बेला भोको छदा खाना दिने गरेता पनि व्यक्तिगत रुपमा अरुकेही गर्न नसकेको भण्डारीले बताए ।

‘कतैबाट सहयोग जुटाएर घरसम्म बनाइदिने पाए हुन्थ्यो, उनले भने,’पेटपाल्न त आफै काम गरेर पनि सक्छन् ।’ यता प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले पनि अभियान चलाएर भएपनि घर बनाइदिनु पर्ने बताइन । गाइ वस्तु बस्ने जस्तो ठाउँमा मान्छे बसिरहेको देख्दा साह्रै दुःख लागेको बताउदैं सबै मिलेर सहयोग जुटाएर घर बनाइदिनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्