श्रीशान्तिले मनाए, सत्यमोहनको जन्म शताब्दी



न्यूज अफ नेपाल, ललितपुर । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी अवसरमा श्री शान्ति माविले जिल्ला व्यापी सत्यमोहन जोशी रनिङशील हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

जोशीको जन्म शताब्दी विभिन्न कार्यक्रम गरेर मनाउन क्रममा सो प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । जोशी सोही विद्यालयका संस्थापक मध्ये एक हुनुहुन्छ । जोशीको अगुवाईमा २००७ सालमा सो विद्यालय स्थापना भएको थियो ।

ललितपुर महानगरपालिका– ८ लोहल स्थिति विद्यालय परिसरमा सोमबार आयोजना गरिएको सो प्रतियोगितामा पदमप्रकाश मावि प्रथम, रुद्रायणी मा. वि द्वितीय, प्रभात मा. वि तृतीय र आदर्श कन्या मा. वि सान्त्वना भएका छन् ।

सो प्रतियोगितामा ललितपुरका १७ सार्वजनिक विद्यालय सहभागी भएको थियो । उत्कृष्ट चार स्थान ओगट्ने र सहभागी विद्यालयहरुलाई एक समारोहकाबीच वरिष्ठ संस्कृतिविद् जोशीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

समारोहमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले २००७ सालको राजनीतिक क्रान्तिपछि शिक्षाको विस्तार गर्न विद्यालय स्थापना गरिएको बताउँदै विद्यालय पढेर धेरै मानिस शिक्षित भएकोमा गौरवको महसुश भएको बताउनुभयो ।

उहाँले थुप्रै मान पदवी पाएकोमा भन्दा पनि आम मानिसहरु शिक्षित बनाउन थोरबहुत योगदान पुर्याउन सकिएकोमा आफूलाई बाँच्नुको गौरवको महसुुस भएको बताउनुभयो । वरिष्ठ संस्कृतिविद् जोशीले किसान समुदायको बाहुल्य रहेको सो स्थानमा शिक्षित बनाउने उद्देश्यले विधालय स्थापना गरिएको स्मरण गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सिंगो राष्ट्रको जीवनमा संस्कृतिविद् जोशी एक महत्वपूर्ण व्यक्तित्व रहनुभएको चर्र्चा गर्दै जोशी स्वयंले स्थापना गर्नुभएको विद्यालयमा आउन पाउँदा आफूलाई धेरै खुशी लागेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय जनताको भावना बुझेर सरकारी प्रशासनलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

समारोहमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीको सभापतित्वमा सम्पन्न सो समारोहमा नगर शिक्षा अधिकारी महेन्द्र क्षेत्री र प्रधानाध्यापक हरिदेव यादवले सार्वजनिक विद्यालयको गुणस्तरीयता बढाउन गर्र्नुपर्ने कार्यको सम्बन्धमा केन्द्रीत गर्दै आ–आफ्नो भनाई राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्