विप्लवको गोप्य कार्यालयमा प्रहरीको छापा, पेस्तोलसहित महत्वपूर्ण दस्तावेज बरामद



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।

बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद प्रहरीले जनाएको छ ।

सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता समेत पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर रहेका छन् ।

पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ ।

यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, उनीहरुबाट बरामद कागज पत्रले समूहको थप योजनाबारे पनि प्रस्ट पारेको बताईएको छ ।

प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै  व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ ।

प्रहरीले पक्राउ परेकालाई सार्वजनिक र विस्तृत विवरण बताउन मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्