चोरी ल्याउँला…



दशैं आयो, खाउँला पिउँला,
कहाँ पाउँला ? चोरी ल्याउँला…

हरेक वर्ष दशैं नजिकिएपछि घन्किन्छ यो बालगीत। यो गीत बालबालिका मात्रै होइन उनका बा आमाका लागि पनि उत्तिकै सान्दर्भिक छ।

फरक यति छ, छोरा–छोरी लाउन खान पाउँला भन्दै दंग मख्ख पर्ने उनका बा आमा कसरी जुटाउने भन्ने टेन्सनमा पर्ने।

खान, खुवाउन टेन्सन नभएका एक सरकारी कार्यालयका हाकिमले भने दशैंको मुखैमा ‘चोरी ल्याउँला’ फर्मुलाबाट घरमा घच्चीको सोफा भित्र्र्याएका छन्।

इटहरीतिर घर भएका, फोहोर मैला व्यवस्थापनका क्षेत्रमा क्रियाशिल ती सरकारी हाकिमले अफिसलाई सोफा किन्ने बहानामा घरमा सोफा भित्र्याएसी छोरा/छोरी र आफन्त भन्दा बढी दंग मख्ख उनकै गृहमन्त्री भा’छिन्।

अफिसको कुरो त्यस्तै हो, हाकिमका घरमा चाहिँ यसपटकको दशैं घच्चीकै हुने भा’छ। ‘मेरो हजुरले काठमाडौंबाट पठाइस्या’ भन्दै माइती, घरछिमेकी र साथीसंगीलाई उपलब्धी सुनाउन हाकिमकी गृहमन्त्रीलाई अहिले भ्याई नभ्याई छ।

सोफा पनि चानेचुने हो र भन्या, स्पेशल अर्डरको, काठमाडौंमै बन्या, दाम दुई लाख २० हजार चानचुनको। हाकिम हुन् त यस्ता।

प्रतिक्रिया दिनुहोस्