शेयर बजारमा दिनहुँ दोहोरो अंकको गिरवट



नेपाल समाचारपत्र, काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। सोमबारको कारोबारमा नेप्से परिसूचक १६ दशमलव १८ अंकले घटेर ११२३ दशमलव ८३ बिन्दूमा झरेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १७ दशमलव ८७ अंकले घटेको थियो। सोमबार कुल १ सय ६९ कम्पनीको १२ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर ३४ करोड ३९ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार, समग्र परिसूचकमा गिरावट आए पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब ४ प्रतिशतले बढेको छ।

त्यस्तै नेसनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर सात प्रतिशतले घटेको छ। यस दिन सबैभन्दा बढी छिमेक लघुवित्त कम्पनीको शेयर खरिद बिक्री भएको छ। यस कम्पनीको एक करोड ८० लाख रुपियाँ बराबरको शेयर खरिद बक्री भएको छ।

साथैनेपाल बैंकको १ करोड ७९ लाख, सिटिजन बैंकको १ करोड ४९ लाख, एनआईसी एसिया बैंकको १ करोड १९ लाख, सिद्धार्थ बैंकको एक करोड १९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड १२ लाख रुपियाँको कारोबार भएको छ।

सोमबार कारोबारमा आएका समूहमध्ये व्यापार समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ। सोमबार सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह १ सय ३१ अंकले गिरावट आएको छ। सोमबार सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६६ अंकले घटेर २४६ दशमलव ३५ बिन्दूमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्