पाइपबाट इन्धन काठमाडौं लैजान सकिने



कृष्णउदास खनाल, वीरगन्ज।भारतबाट केही दिन अघि बाराको अमलेखगञ्जसम्म पाइपमार्फत आएको इन्धन अब पाइपबाटै राजधानी पुर्याउनेबारे सरकारले चासो देखाएको छ।

बाराको अमलेखगन्जबाट राजधानीसम्म पाइपलाइन बिस्तार गर्न सकिने अवस्थाबारे अध्ययन गर्न बनाइएको बिज्ञको अध्ययनले समेत उक्त परियोजना असम्भव नहुने देखाएको हो।

पाइपलाइनलाई राजधानी पुर्याउन हाल निर्माणाधीन अवस्थामा रहेको निजगढ–काठमाडांै दु्रतमार्गलाई प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनअनुसार बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर ७६ किलोमिटर फष्ट ट्रयाक हुँदै राजधानीसम्म पाइपमार्फत इन्धन पुर्याउन सकिने सम्भावना देखिएको छ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बिज्ञले गरेको अध्ययनको प्रतिवेदन प्राप्त भइनसकेको र उक्त प्रतिवेदन आएलगत्तै थप प्रक्रिया अघि बढाउने बताउनुभयो।

प्राविधिक रूपमा सम्भावना देखिए पनि अध्ययनबाट आर्थिक रूपमा समेत उपयुक्त देखिए प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो।

फाष्ट ट्रयाकको बिस्तृत परियोजना प्रतिवेदनमा समेत सोही मार्ग हुँदै पाइपलाइन बिस्तार गर्न सकिने उल्लेख छ। यो मार्गको बिस्तृत परियोजना प्रतिवेदन कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङ कन्सट्रक्सनले तयार पारेको हो

।बाराको अमलेखगन्जमा हाल पाइपबाट इन्धनको ढुवानी भइरहेको छ। भारतको बरौनीबाट सिधै अहिले डिजल आपूर्ति भइरहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्