कारबाही गर्न महासंघको माग



काठमाडौं, (नेस)। म्याग्दीको बेनी नगरपालिका–५ स्थित बगुवखोला नजिक अज्ञात समूहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ।

महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी भएको थियो।

व्यवसायीलाई आतंकित पारी पेसाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कठघरामा ल्याई आवश्यक कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ।

‘व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटक–पटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो,’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्ण व्यवसायीमैत्री कानून तथा निर्माण सामग्रीको अभाव, महँंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाई लगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायी कार्य क्षेत्रमा खटिएको अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरवाही देखिएको महासंघले जनाएको छ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रूपमा शशक्त आन्दोलन शुरू गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्