डेंगुविरुद्ध नेकपा जाइलाग्ने



बुटवल, (नेस)।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षेत्र नम्बर २ रुपन्देहीले डेंगुरोग नियन्त्रणका लागि प्रभावकारी अभियान चलाउने निर्णय गरेको छ।

क्षेत्रीय कमिटीको सोमबार बसेको बैठकले डेंगुरोगले महामारीको रुप लिन सक्ने ठहरसहित यसको नियन्त्रणका लागि मातहतका सबै कमिटीलाई परिचालन गर्ने निर्णय गरेको हो।

डेंगुरोगबारे सचेतना जगाउनेदेखि लिएर ‘खोज र नष्ट गर’ अभियानसमेत चलाउने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।

त्यसैगरी तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल पार्न मातहतका कमिटीलाई परिचालन गर्ने र संविधान दिवसलाई भव्यरूपमा मनाउने निर्णयसमेत बैठकले गरेको छ।

त्यसैगरी बैठकले संगठित सदस्यता नवीकरण गर्न क्षेत्रभरी अभियान सञ्चालन गर्ने निर्णय गर्दै नवीकरण नगर्नेलाई कारणसहित जानकारी गराउन पनि आग्रह गरेको छ।

सदस्यता नवीकरण अभियानका लागि बुटवल क्षेत्रमा बाबुराम पन्थी, सैनामैनामा खुशीराम चौधरी र तिलोत्तमा १–६ मा मोहन चापागाईंलाई जिम्मेवारी दिइएको छ।

बैठकले जिल्ला कमिटीबाट प्राप्त सर्कुलर प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै क्षेत्र नम्बर २ अन्तर्गत रहेका तर विगतमा विभिन्न जिम्मेवारीमा रहेर अहिले जिम्मेवारीबिहीन बनेका नेताहरूको सुची तयार गरी कमिटीमा राख्नका लागि सिफारिस गर्ने निर्णय पनि गरेको क्षेत्रीय अध्यक्ष केसीले जानकारी दिए।

बैठकले प्रदेश कमिटीबाट क्षेत्रीय इन्चार्जको रूपमा आएका गोपाल भट्टराई र सहइन्चार्जको रूपमा आएका पुरन गुरुङलाई बधाइ दिएको छ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य लिला गिरीले पार्टी एकताको काम टुंगिइसकेको जानकारी दिँदै अब भावनात्मक एकता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

अर्का केन्द्रीय सदस्य दधिराम न्यौपानेले पार्टीलाई सही बाटोमा डोर्याउन पार्टी सदस्यको महत्वपूर्ण भूमिका रहने भन्दै पार्टीले गरेका हरेक निर्णयलाई कार्यान्वयन तहमा लैजान आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्