नेपाल टेलिकमको ‘फोर जी’ दशैंअगाडि नै आउने भो



नेपाल समाचारपत्र,डोटी। नेपाल टेलीकमले दसंै अगाडि नै सुदूरपश्चिम प्रदेशमा द्रुत गतिमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरेपछि यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौंथो पुस्ताको ताररहित दुरसञ्चार सेवा ‘फोर जी’ प्रयोग गर्न पाउने भएका छन्।

नेपाल टेलिकम दीपायल कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा विभिन्न ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिने भएको छ।

नेपाल टेलिकमले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरिमा नै उक्त ‘फोर जी’ सेवा शुरू गर्ने तयारीमा जुटेको नेपाल टेलिकम दीपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामी सुदूरपश्चिम प्रदेशभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौं, सम्भबतः दसैं अगावै सेवा विस्तार हुन सक्छ।’

आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पुर्याउने सरकारी लक्ष्यअनुसार सुदूरपश्चिम प्रदेशमा पनि तीवरूपमा काम भइरहेको नेपाल टेलिकम दीपायलका निमित्त प्रमुख चौधरीले जानकारी दिनुभयो।

नेपाल टेलिकम दिपायलले ‘फोर जी’ सेवा शुरू हुने बीटीयस टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्न्ड युनिट राख्ने काम भइरहेको जनाएको छ।

यहाँका मुख्य सहरमा उक्त सेवा सुचारु भएपछि अन्य जिल्लामा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको बताईएको छ।

‘फोर जी’ सेवा शुरू भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेमा यहाँका स्थानीयवासी खुसी भएको व्यापारी खड्कविक्रम शाहीले बताउनुभयो।उहाँले भन्नुभयो,‘फोर जी’ सेवा शुरू भएपछि इन्टरनेट चलाउने ग्राहकलाई राम्रो सुविधा हुनेछ, यो खुशीको कुरो हो।’

‘फोर जी’ सेवालाई मोबाइल ब्रोड ब्यान्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ। यो सेवा ‘थ्रि जी’ सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो।

यो इन्टरनेटको गति प्रतिसेकेन्ड एकसय मेगाबिट्स (एमबीपीएस) भन्दा माथि हुने गरेको टेलिकमका प्राबिधिक बताउँछन्। ‘फोर जी’ राउटरबाट कम्प्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिने व्यवस्था भएको टेलिकमले जनाएको छ।

हालको ‘थ्री जी’ प्रविधिमार्फ्त ‘भिडिया–भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’लगायतका सेवाहरू ग्राहकले पाइरहेका छन्।

अहिले नेपाल टेलीकमले कैलाली, कञ्चनपुरलगायतका अन्य जिल्लामा रहेका टावरमा समेत ‘फोर जी’ सञ्चालनका लागि तीव्ररूपमा तयारी गरिरहेको र उक्त तयारी अन्तिम चरणमा पुगेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ। यसभन्दा पहिले ‘फोर जी’ सेवा काठमाडांै, पोखरालगायतका सहरहरूमा प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्