मोरङको ६० किलोमिटरमा ५८ सीसी क्यामेरा जडान



नेपाल समाचारपत्र, विराटनगर। मोरङका विभिन्न ५८ स्थानमा नयाँ सीसीटिभी क्यामेरा जडान गरिएको छ। प्रदेश–१ सरकारको १ करोड ५३ लाख ५८ हजार ५ सय रुपियाँको लागतमा मोरङका ५८ स्थानमा क्यामेरा जडान गरिएको हो।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक समारोहका बीच मोरङका विभिन्न ५८ स्थानमा जडान गरिएका नयाँ सीसीटिभी क्यामेराको उद्घाटन गर्नुभयो।

कार्यक्रममा मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले १ करोड १४ लाख मूल्य बराबरको सीसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो।

उहाँले काठमाडौंपछि मोरङ जिल्लामा दोस्रो ठूलो नेटवर्कको रूपमा ६० किलोमिटरको क्षेत्र समेटिने गरी अप्टिकल फाइबरसहितको सीसीटिभी क्यामेराको सञ्जाल विच्छाइएको बताउनुभयो।

विराटनगर रानीदेखि ढाटसम्म ३२ वटा, इटहरीको बुढीखोलादेखि भाउन्ने सम्म १३ वटा र पथरीदेखि उर्लाबारीसम्म १३ वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ।

यसरी जडित सीसीटिभी क्यामरालाई फाइबरको माध्यमबाट जोडिएको छ। फाइबरको आयु १० वर्षसम्म रहने बताइएको छ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार अपराधिक घटनाको अनुसन्धान र निगरानीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र बेलबारीबाट सीसी क्यामेराको अनुगमन हुनेछ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले सीसीटिभी क्यामराको सञ्जालले अपराध नियन्त्रण, निगरानी र अनुसन्धानमा सकारात्मक उपलब्धि हाँसिल हुने बताउँदै प्रदेश–१ भरनै सुशासन कायम गर्नको निम्ति सीसीटिभी क्यामेराले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर भित्र ३२ वटा सिसी क्यामेरा जडान गरिसकिएको जानकारी गराउनुभएको थियो।

मेयर पराजुलीले हरेक टोल, वडा र स्थानीय तहमा समुदाय र प्रहरी साझेदारी कार्यक्रमलार्ई पनि निरन्तरता दिएको र यसले प्रभावकारी रुपमा काम गरिरहेको विश्वास व्यक्त गर्नुभयो।

विराटनगरको मुख्य बजार क्षेत्रमा पनि क्यामेरा जडान गरिएका छन्। तर निर्माणाधीन सडकका कारण विराटनगर क्षेत्रका क्यामेरा प्रयोगमा आएका छैनन्। प्रहरीले अब जिल्लाभर १ सय ५४ स्थानमा सीसीटिभी क्यामेरामार्फत निगरानी गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्