पाँच वर्षमा पनि पुल बनेन

ठेकेदार कम्पनी र सडक कार्यालयबीच आरोप प्रत्यारोप



नेपाल समाचारपत्र,बैतडी। यहाँको पाटन नगरपालिकाको सकार तथा कैलपाल जोड्ने पुल पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन। २०७१ सालमा पुल निर्माणका लागि एड्भेन्चर कन्सट्रक्सन कम्पनीले जिम्मा पाएकोमा सम्झौतामा तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको हो।

सुर्नया नदीमाथि ५० मिटरको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको भए पनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको डिभिजन सडक कार्यालय पाटनले जनाएको छ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै पुल निर्माणको काम नभएको डिभिजन सडक कार्यालयका प्रमुख शंकर खनालले बताउनुभयो तर निर्माण कम्पनीले भने कार्यालयकै कमजोरीले पुल समयमा निर्माण सम्पन्न हुन नसकेको दाबी गरेको छ।

पुल निर्माण स्थलसम्म पुग्ने बाटोको समयमै मुआब्जा नदिँदा २८ महिनासम्म काम गर्न नपाएको र त्यसपछि गरेको कामको भुक्तानी पनि समयमा नपाएका कारणले पुल निर्माण हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधि मदनमोहन विष्टले बताउनुभयो।

२ करोड ९० लाखमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको कम्पनीले समयमा काम नसकेपछि खरिद ऐनअनुसार आगामी माघ महिनाभित्र कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिइएको डिभिजन प्रमुख खनालले बताउनुभयो।

सम्झौतामा उल्लेखित समयमा पुल निर्माण सम्पन्न नगर्ने कम्पनीलाई किन कालोसूचीमा नराख्ने भनेर सूचना समेत प्रकाशित गरेको तर खरीद ऐनको आठौं संशोधनले एक पटकका लागि कम्पनीले काम गर्न चाहे काम गर्न दिने प्रावधानको व्यवस्था गरेकोले सोहीअनुसार हर्जानासहित म्याद थपेको खनालले बताउनुभयो।

कैलपाललाई सकारसँग जोड्ने सुर्नया नदीको मोटरबाटो निर्माण समयमा सम्पन्न नहुँदा पाटन नगरपालिका–१ र ७ का स्थानीयको मोटर चढ्ने सपना अधुरो बनेको छ। पुल निर्माण नहुँदा सडकमा जिप गुड्न नसकेकोले सहज आवागमनमा अवरोध सृजना भएको पाटन नगरपालिका–१ का वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताउनुभयो।

पुल निर्माण स्थलसम्म पुग्ने बाटोको समयमै मुआब्जा नदिँदा २८ महिनासम्म काम गर्न नपाएको र त्यसपछि गरेको कामको भुक्तानी पनि समयमा नपाएका कारणले पुल निर्माण हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधि मदनमोहन विष्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्