सुडाल स्वास्थ्यचौकी भवन उद्घाटन र हस्तान्तरण



पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल,भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रको आर्थिक सहयोगमा निर्माण गरेको स्वास्थ्यचौकी भवनको उद्घाटन र हस्तान्तरण भएको छ ।

प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भवनको एक कार्यक्रमकाविच उद्घाटन गर्नुभएको छ ।भवनको उद्घाटन पश्चात् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले निर्माण सम्पन्न भवनको साँचो चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रलाई र उहाँले वडा नं. ८ का वडाअध्यक्ष परासर सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो ।

भवन उद्घाटन गर्नुहुदै मन्त्री युवराज दुलालले राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्ने बताउनुहुँदै नेपाल रेडक्रसका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले प्रदेशभर मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएकोमा चालू आर्थिक वर्षमा अतिविपन्न तथा गरिब एक लाख जनताको निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताउनुभयो ।स्वास्थ्यचौकीको भवनसँगै गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने र त्यसका लागि जनप्रतिनिधिहरुले पनि सहयोग पुर्याउनुपर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बताउनुभयो ।

रेडक्रसले जिम्मा लिएर निर्माण भएको स्वास्थ्य चौकीको भवन समय अगाडिनै निर्माण सम्पन्न हुनु ज्यादै खुशीको विषय भएको चाँगुनारायण नगरपालिकाप्रमुख सोम मिश्रले बताउनुभयो । समुदाय र सरोकारवालाको अनुगमन र सहभागिताले समयमै गुणस्तरीय काम भएको बताउँनुहुदै नगरप्रमुखमिश्रले यसबाट पाठ सिकेर समयमै सञ्चालित योजनाहरु सक्नका लागि सरोकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो । चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्षपरासर सापकोटाले स्वास्थ्यचौकीको भवन निर्माणले वडामै पहिलोपल्ट बर्थिङ सेन्टर सञ्चालन गर्न सहज भएको बताउनुहुदै नेपाल रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् अतिप्रभावित १४ जिल्लामा एकिकृत पुर्नलाभ कार्यक्रम सञ्चालन गरेको थियो । रेडक्रसले आवास, खानेपानी तथा सरसफाई, स्वास्थ्य, जिविकोपार्जन, संस्थागत विकासका क्षेत्रमा काम गरेको थियो । अति प्रभावित जिल्लामा २७ वटा कर्मचारी बस्ने आवास, बर्थिङ सेन्टर सहितको भवन निर्माण र स्वास्थ्य चौकीको लागि आवश्यक सामाग्री सहयोग गरिसकिएको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिनुभयो । रेडक्रसले स्वास्थ्य संस्था निर्माणको लागि फरक–फरक निर्माण कम्पनीलाई जिम्मेवारी दिएकोले समयमै निर्माण सकिएको कार्यकारी निर्देशक ढकालले बताउनुभयो ।

ब्रिटिस रेडक्रसको भ्याटसहित एक करोड ५६ लाख ७१ हजार एकसय ९ रुपैयाँको आर्थिक सहयोगमा गएको सेप्टेम्बर २०१८ मा सुडाल स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु भएकोमा अगष्ट २०१९ मा सम्पन्न भएको थियो । बर्थिङ सेन्टरका उपकरण तथा फर्निचर खरिदको लागि टेन्डर भएको र टेन्डर प्रक्रिया पूरा भई स्वास्थ्यचौकीमा उपकरण जडान हुन दुईतीन महिना लाग्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज कुमार थापाले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डे, सुडाल उपशाखाका सभापति विदुर नेपालल गायतले बोल्नु भएको थियो । स्वास्थ्यचौकीको भवन उद्घाटन कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक,सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो । साँग दोर्जे निर्माण सेवा प्रालिले स्वास्थ्यचौकी भवन निर्माणको जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्