अर्मादी नजिकैको रिठेखोलाले बगायो ट्याक्सी, अबरुद्ध पोखरा बाग्लुङ्ग सडक सुचारु



दुर्गा प्रसाद शर्मा,पर्वत। पर्वतको कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको रिठे खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो।

खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्‍याउँदा हिलोमा फसेको थियो।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो। सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरि सोमबार राती आएको अबिरल बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको मध्य पहाडी लोकमार्गको पोखरा बाग्लुङ्ग सडक खण्ड केही बेर अघि सुचारु भएको छ ।

बर्षाका कारण पहिरो जाँदा पर्वतको मोदी गाउँपालिका ४ भ्याप्लेमा र कास्कीको अन्नपुर्ण गाउँपालिकाको फेदीमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो । स्तरोन्नतीको क्रममा रहेको सडक खण्डमा गएको पहिरो हटाएर सवारी आवगमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

भद्रखोलामा सोमबार राती १२ बजे गएको पहिरोले अबरुद्ध भएको सडक राती नै सुचारु गरिएको थियो तर बिहान फेरी पहिरो गएर सडक अबरुद्ध भएको थियो । अबरुद्ध सडक बिहान ९ बजे देखि सुचारु भएको हो । रिठेखेलामा पनि माथिबाट आएको लेदो र ढुंगाले सडक अबरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्