पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण



मोतीराम तिमल्सिना,काभ्रे ।खराव मौषमका कारण लुक्लाबाट काठमाडौ उडेका ४ वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । धान खेतमा अवतरण गरिएका हेलिकप्टरका सबै यात्रु सकुशल छन् । लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा अर्काे एउटा हेलिकप्टर अवतरण गरेको छ ।

अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् ।

४ चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।

नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ । मौषम सुधार भए पछि आकस्मिक अवतरण गरिएका सबै हेलिकप्टरहरु गन्तब्य तर्फ जाने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्