नागढुंगा सुरुङमार्ग बन्ने पक्का स्थानीयवासी खुसी



नेपाल समाचारपत्र, काठमाडौं। नागढुंगा सुरुङ मार्ग बन्ने पक्का भएपछि नागढुंगा क्षेत्रका स्थानीय खुसी भएका छन्। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले ठेकेदार छनोट गरी सम्झौताको तयारी गरेसँगै नागढुंगावासीमा खुसी छाएको हो।

सुरुङमार्ग निर्माणका लागि ४२ कम्पनीले आशय जनाए पनि छनोट प्रक्रियाका लागि भने ६ कम्पनी परेका थिए। जसमा ५ कम्पनी चिनियाँ र एक जापानी कम्पनी थिए।

धादिङको सिस्नेखोलादेखि काठमाडौंको तोटीपाखासम्म बन्न लागेको नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापानी ठेकेदार कम्पनी छनोट गरी आयोजनाले सम्झौताको तयारी थालिसकेको छ। सुरुङमार्ग र त्यससम्म पुग्ने पहुँच मार्गले काठमाडौंतर्फको चन्द्रागिरी नगरपालिकाको १, २, ५ र १२ नम्बर वडाको भूभाग पर्दछ।

आयोजनाले शुरूमा जग्गा अधिग्रहण गर्दा मुआब्जाको विषयमा समस्या देखिए पनि अहिले त्यो विषय टुंगिएको र आयोजना बन्न लागेकाले आफू खुसी रहेको चन्द्रागिरी–२ का वडा सदस्यसमेत रहेका स्थानीय सुरेन्द्र तामाङले सुनाउनुभयो।

‘शुरूमा मुआब्जाको विषय नटुंगिदा विरोध पनि थियो। अहिले त्यो सुल्जिएको छ। सुरुङ बन्ने पक्का भएको छ हामी खुसी छौं। वडावासी खुसी छन्’ –उहाँले भन्नुभयो।त्यस्तै नगरकी उपप्रमुख लिशा नकर्मीले नगरवासीको समस्या सुल्टिसकेकाले चाँडै सुरुङ बन्नुपर्ने धारणा राख्नुभयो।

‘सुरुङ मार्ग आयोजनासँग नगरवासीको समस्या टुंगिसकेकाले आयोजना चाँडै बन्नुपर्छ,’ उहाँले भन्नुभयो– ‘आयोजनाले पनि ठेकेदार छनोट गरिसकेको अबस्था भएकाले चाँडै बन्नेमा ढुक्क र असावादी छु , खुसी पनि छु।’ एक वर्ष लामो समय लगाएर आयोजनाले जापानी निर्माण कम्पनी हज्मा–आन्दो जेभीलाई छनोट गरिसकेको छ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलले छनोट प्रकृयामा परेका ६ कम्पनीमध्ये यी कम्पनी उत्कृष्ट देखिएकाले छनोटमा परेको बताउनुभयो।सुरुङमार्ग निर्माणका लागि ४२ कम्पनीले आशय जनाए पनि छनोट प्रक्रियाका लागि भने ६ कम्पनी परेका थिए। जसमा ५ कम्पनी चिनियाँ र एक जापानी कम्पनी थिए।

‘प्राविधिक मूल्यांकनको क्रममा चिनियाँ कम्पनीले प्राविधिक विषयमा पुस्ट्याइँ हुने डकुमेन्ट नभएपछि आर्थिक मूल्यांकनमा परेनन्। त्यसपछि प्राविधिक र आर्थिक दुवै अवस्था बलियो भएको जापानी कम्पनीलाई छनोट गरिएको हो’ –उहाँले भन्नुभयो।

सम्झौता असोजको पहिलो हप्ता गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो। ‘सम्झौताका लागि ठेकेदार कम्पनीका प्रतिनिधिक नेपाल आइसक्नुभएको छ। अहिले सम्झौताका लागि कागजी प्रक्रिया थालिसकेका छौं।’ उहाँले भन्नुभयो– ‘असोज पहिलो हप्ताभित्र सम्झौता हुन्छ।’

आयोजनाको कार्ययोजनाअनुसार ६ महिनाअघि नै निर्माण कम्पनी छनोट गरेर निर्माण चरणमा पुग्ने थियो तर छनोट चरणमा परेका ठेकेदार कम्पनीको जाँच र जग्गा अधिग्रहणमा ढिलो हुँदा कम्पनी छनोटमा ढिलाइ भएको उहाँको दाबी छ।

काठमाडौंतर्फ ३ सय र धादिङतर्फ १ सय ९ रोपनी जग्गा आयोजनाले अधिग्रहण गरिरहेको छ। त्यसमध्ये काठमाडौंतर्फको गोर्जुधारा–बलम्बुको ४७ घरसहित ११ रोपनी र धादिङतर्फको गुठी जग्गा २३ रोपनीको सहज उपलब्धताका लागि भौतिक मन्त्रालयमार्फत मन्त्रिपरिषद् लगिसकेको छ।

ठेक्का सम्झौता भएको तीन महिनाभित्र ठेकेदार निर्माण काममा खट्ने विश्वास आयोजना प्रमुख खरेलले लिनुभयो। त्यसबीचमा निर्माण सामग्रीको व्यवस्थापन, क्याम्प स्थापनालगायत बन्दोबस्त हुने उहाँले बताउनुभयो।

देशको राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा २.५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुन लागेको हो।

सुरुङ निर्माण भएमा राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा ट्राफिक समस्या समधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने अनुमान गरेको छ।

सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले सुरुङ मार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता भइसकेको छ।

करिब ५ वर्षभित्र निर्माण सकिने लक्ष्यसहित योजना अघि बढेको हो। सन् २०१९ मा आरम्भ भएर सन् २०२२ सम्ममा पूरा हुने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्