रेडियो परिसरबाटै नौ पत्रकार समातिए



काठमाडौं, (नेस)।रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको विषयलाई लिएर सोमबार वार्ता भएको छ।

नेपाल पत्रकार महासंघले पटकपटक पुनर्वहालीको माग गरे पनि सुनवाइ नभएपछि महासंघका कार्यबाहक अध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा रेडियो नेपालको व्यवस्थापन पक्षसँग सो विषयमा वार्ता भएको हो।

वार्ताबाट समाधान दिनेतर्फ गम्भीर नभई वार्तालगत्तै रेडियो परिसरबाट निस्कँदै गरेका महासंघका सचिव र केन्द्रीय सदस्यसहित ९ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयबाट निस्कँदै गर्दा प्रहरीले हस्तक्षेप गरी रेडियो परिसरबाटै महासंघ सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरू यम विरही, जन्मदेव जैसी, मीन बमसहित पत्रकारहरू अजयबाबु सिवाकोटी, दिलीप पौडेल, महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर र निष्कासित पत्रकारहरू प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेको छ।

वार्ताका क्रममा रेडियो नेपाल व्यवस्थापन पक्ष गम्भीर नदेखिएन र वार्ता हुँदै गर्दा रेडियो परिसरभित्र प्रहरीको बाक्लो उपस्थिति गराइएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।संवादबाट समस्या समाधान गर्नुभन्दा प्रहरी प्रशसान लगाएर मुद्दालाई दबाउने काम भएको महासंघको ठहर छ।

एकातर्फ श्रमजीवी पत्रकारहरूलाई बीनाकारण निष्कासन गर्ने अर्कोतर्फ वार्ताका माध्यमबाट समस्याको खोजी गर्ने प्रक्रियालाई दबाउन प्रहरी परिचालन गर्ने दुवै कार्य श्रम अधिकार तथा प्रेस स्वतन्त्रताप्रति गम्भीर आक्रमण भएको महासंघले जनाएको छ। प्रहरीले उनीहरूलाई पक्राउ पछि दुई घन्टा नियन्त्रणमा लिएर छाडिएको थियो।

प्रतिक्रिया दिनुहोस्