पूर्ण सरसफाइसम्बन्धी रणनीतिक कार्ययोजना सार्वजनिक गरिने



नेपाल समाचारपत्र,भक्तपुर।जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले आगामी असोज ५ गते भक्तपुरको ‘पूर्ण सरसफाइसम्बन्धी जिल्लाको रणनीतिक कार्ययोजना २०७५’ सार्वजनिक गर्ने निर्णय गरेको छ।

असोज ५ गते एक विशेष कार्यक्रमको आयोजना गरी जिल्लाको रणनीतिक कार्ययोजना सार्वजनिक गरिने भएको हो। समितिको बैठकले सो निर्णय गरेको हो।

रणनीति सार्वजनिक गर्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शिवेन्द्र झाको नेतृत्वमा तयारी समिति गठन गरिएको छ।

कार्ययोजनाले ‘कला संस्कृति र विश्व सम्पदाले भरिपूर्ण, भक्तपुर हाम्रो चिनारी, सफा र स्वच्छ जिल्ला बनाउने, हाम्रो साझा जिम्मेवारी’ भन्ने नारासमेत तय गरेको छ।

कार्ययोजनाले जिल्लामा रहेको स्रोतहरूको एकीकृत परिचालन गरी ५ वर्षभित्र यो अभियानलाई मूर्तरुप दिने परिकल्पना गरेको युन ≈याबिट्याटका भक्तपुर संयोजक पार्वती दंगालले बताउनुभयो।

भक्तपुर जिल्ला यसअघि नै खुला दिसामुक्त घोषणा भइसकेको छ। अभियानअन्तर्गत हनुमन्ते सरसफाइ अभियान शुरू भइसकेको छ भने जिल्ला तह हुँदै नगर, वडा र टोलटोलमा समेत खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भइ सरसफाइका कामसमेत शुरू भइरहेका छन्।

यसैबीच विश्व सरसफाइ दिवसका अवसरमा आइतबारबाट शुरू भएको साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ समितिले जिल्लाका भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण ४ वटै नगरपालिकासँग समन्वय गर्दै साताव्यापी सरसफाइ अभियान शुरू गरेको जनाएको छ।

वन तथा वातावरण मन्त्रालयको कार्यतालिकाअनुसार समितिले साताव्यापी सरसफाइ अभियान थाल्ने निर्णय गरेको थियो। सोमबार शैक्षिक संस्था, मंगलबार सार्वजनिक संस्था तथा पार्क, बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सहायक सडक र शनिबार मुख्य सडक क्षेत्र सरसफाइ गरी दिवस मनाइएको हो।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सो अभियानअन्तर्गत साताव्यापी कार्यक्रम गरिएको र यसमा जिल्लामा रहेका सरकारी कार्यालय,विभिन्न संघ संस्था, टोल विकास संस्था, क्लब, सरसफाइ क्षेत्रमा क्रियाशील संघ संस्था, आमा समूह र आम नागरिक समाज सहभागी भएको बताउनुभयो।

सरसफाइसम्बन्धी अभियान र रणनीतिक कार्ययोजना कार्यान्वयन गरी सफल पार्न जिल्लाका चारवटै नगरपालिकाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय जनताको सहयोग र आवश्यकताअनुसार कार्ययोजनालाई ढाल्नुपर्ने बताउँदै नमुनाका रुपमा वडा–वडामा यो अभियान शुरू गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्