१ सय ३८ बिरामी जाँच्दा ५२ एन्जाइटीका बिरामी



Depressed woman pressing her hand against her forehead

नेपाल समाचारपत्र,ललितपुर। ललितपुरका विभिन्न पाँच स्थानमा मानसिक बिरामीको जाँच गर्दा ५२ जना एन्जाइटी अर्थात् डरसम्बन्धी रोगी भेटिएका छन्। यो संख्या १ सय ३८ जना मानसिक बिरामीको जाँच गर्दा भेटिएको संख्या हो।

२०७२ को भूकम्पपछि ललितपुरको दक्षिणी भेगमा कार्यक्षेत्र बनाई कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनले मानसिक रोगीहरूको पहिचान र उपचार गराउँदै आएको छ।

संगठनका ललितपुर जिल्ला संयोजक तथा मनोसामाजिक विमर्शकर्ता सन्दीप बस्नेतले जिल्लाका लेले, छम्पी, नल्लु, भारदेउ र चौघरेमा उक्त संख्या बराबरको रोगी भेटिएको बताउनुभयो।

‘वडामा रहेका महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक आदिबाट यस्ता बिरामी सम्पर्कमा आएका छन्’, उहाँले भन्नुभयो– ‘हामीले बेलाबेलामा कार्यक्रम बनाई खोजी गर्दा पनि मानसिक रोगीहरू भेट्टाएका छौं। त्यसमा पनि एन्जाइटीबाट पीडित धेरै देखिएको छ।,’

पारिवारिक गरिबी, आर्थिक अभाव, कमजोर शैक्षिक स्थिति, पारिवारिक तनाव, साथीभाइबीचको झैझगडा, काम, पढाइमा असफलता, प्राकृतिक प्रकोपपछि यी समस्या देखिने उहाँले बताउनुभयो।

एक्लै बस्न डराउने, समूहमा कुरा गर्न डराउने, डर लाग्ने, आत्तिने, लगातार एउटै सोचले दुःख मानिराख्ने जस्ता लक्षण दुई हप्ता वा त्यसभन्दा बढी दिनसम्म लगातार देखियो भने एन्जाइटी अर्थात् डरसम्बन्धी मानसिक रोग भएको बुझिन्छ।

जिल्लाका विभिन्न भागका मानिसमा यी लक्षणहरू देखिएको संगठनले दाबी गरेको छ। यी रोगीहरू १६ देखि ७८ वर्ष उमेर समूहका रहेको संगठनले जनाएको छ।

हेर्दा सामान्यजस्तो देखिने यो रोगको समयमै उपचार गराउन नसके विकराल रुप लिन सक्ने मनोविज्ञहरूले औंल्याएका छन्। यसताखाले रोगीले सही समयमै उचित परामर्श र औषधि उपचार पाउन सके भयावहको रुप लिनबाट जोखिन्छ।

यस्ता किसिमका रोगीको उपचार सम्भव रहेकाले समयमै निराकरण गर्नुपर्ने मनोविज्ञहरू सुझाउँछन्। संगठनले हाल लेले प्राथमिक स्वास्थ्य केन्द्रसँग सहकार्य गरेर महिनाको चौथो बुधबार मनोरोगका विशेषज्ञद्वारा जाँच गर्ने गर्दछ।

प्रत्येक बिमारीलाई त्यही दिन फलोअपका लागि बोलाउने औषधि थप्ने, जाँच गर्ने गरिने मनोविमर्शकर्ता बस्नेतले बताउनुभयो।

संगठनले रोगीलाई शुरूमा मनोसामाजिक परामर्श दिने, थेरापी गर्ने, औषधि दिने र धेरै कडा खालका बिमारीलाई कोसिसकै सेल्टरमा राखेर औषधि उपचार गरेर निको पारेर घर फर्काउने र निरन्तर फलोअपका लागि बोलाउने गरेको मनोविमर्शकता बस्नेतले सुनाउनुभयो।

संगठनले हालसम्म १२ जना कडा खाले मनोरोगीलाई थप उपचारका लागि सेल्टर पठाएर उपचार भइरहेको छ।
कोसिसले ललितपुरको दुर्गम बस्तीमा पनि यसता खालका रोगीहरू खोजी गरिरहेको जनाएको छ।

कोसिसले मानसिक रोगीको पहिचानका लागि महिला स्वयंसेवीकाहरू, प्राथमिक स्वास्थ्य केन्द्र र चौकीका स्वास्थ्य कार्यकर्ताकालाई तालिम दिने गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्