यसपालिको दशैंमा डेंगुको प्रकोप बढ्ने !

दशैैंका बेला डेंगु ज्वरोको महामारी फैलन सक्ने !



भगवती/मोतिराम तिमल्सिना

यतिखेर काठमाडौं उपत्यकामा मात्रै हैन देशभरि नै डेंगुको महामारीले आम नागरिकलाई चिन्तित तुल्याएको छ।रुवा रोगको उपचार गर्ने सरकारी अस्पताल टेकुमा बिरामी खचाखच भरिएका छन्।त्यतिमात्र नभई निजीक्षेत्रबाट सञ्चालित अस्पतालमा पनि डेंगुका बिरामीको चाप उत्तिकै छ।

नजिकिँदै गरेको दशैंमा सपरिवार एकै थलोमा जम्मा भई खुसी साट्ने र आफन्तजनसँग भेटघाट गरी आशीर्वाद लिने बेलामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवनलगायत देशैभरि डेंगुको उच्च जोखिब बढ्ने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झा बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘वर्षाद्को मौसम शुरू भएपछि डेंगु ज्वरोको प्रकोप बढ्दै जान्छ र कात्तिक महिनादेखि कम हुँदै जान्छ। यो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। वैशाख महिनामा सुनसरीमा देखापरेको डेंगु यतिबेला मुलुकका ६० जिल्लामा फैलिएको छ।

तराईमा मात्र बढी देखिँदै आएको डेंगु यस वर्ष पहाड र हिमाली जिल्ला रसुवामा पनि देखापरेको छ। रसुवामा त डेंगुका कारण एक जना बिरामीको मृत्यु नै भयो।

केही दिन वर्षा कम हुँदा संक्रमित लामखुट्टे कम हुने अनुमान गरिएको थियो तर शुक्रबार रातीबाट पुनः शुरू भएको वर्षाले संक्रमित लामखुट्टेको संख्या बढाउने र दशैंका बेला संक्रमित लामखुट्टेको टोकाइबाट धेरै मानिस बिरामी हुन सक्ने भएकाले सबैले सचेतना अपनाउनुपर्ने डा. झाको सुझाव छ।

उहाँ भन्नुहुन्छ– ‘यस्तो बेलामा सबै जागौं र वरिपरि जमेको पानी हटाई डेंगु भगाऔं।कोही कसैका लागि पनि दशैं दशा नबनोस्।’डा. झाका अनुसार एडिस जातको पोथी लामखुट्टे देशका हरेक कुनाकुनामा पुगेको र एउटा लामखुट्टेले एकै दिन पुरै परिवारलाई टोक्न सक्छ।डेंगु संक्रमित लामखुट्टेले टोकेरै परिवारैलाई सोत्राम पार्न सक्छ। यतिबेला वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको परिवारै डेंगुको संक्रमणको शिकार बन्न पुगेको छ।

यतिबेला डेंगु मात्र नभएर सिजनल फ्लु, टाइफाइड, झाडापखाल सरुवा रोगको प्रकोप बढेका कारण कोही कसैसँग भेट हुँदा नमस्कार गरौं, हात मिलाएर रोगको किटाणु साटासाट नगरौं भन्नुहुन्छ डा. झा।

डेंगु हात मिलाउँदा सर्दैन तर अन्य रोगहरू हात मिलाउँदा पनि सर्न सक्छ।डा. झा भन्नुहुन्छ– ‘एकदेखि तीन महिनाको आयु भएको लामखुट्टेले एक सातामा नै सयौंको संख्यामा अण्डा पार्छ।

संक्रमित लामखुट्टेले पारेको अण्डा पनि संक्रमित हुने र त्यसबाट निस्कने लामखुट्टे पनि संक्रमित हुने गर्दछ। यो अण्डा सफा पानीमा पार्ने र पानी सुके पनि नमर्ने भएका कारण पुनः पानी पाउनासाथ हुर्कने हुनाले यो वर्षौंपछि पनि सक्रिय हुन सक्छ।

हप्तामा एकपटक हरेक व्यक्तिले आफ्नो घर आँगनमात्र नभई घरदेखि १ सय मिटर वरपरसम्म वयष्क लामखुट्टे, लार्भा र अण्डा सुरक्षित रहेको बासस्थानलाई खोज र नष्ट गर भन्ने अभियान नै नचलाएसम्म सरकारको एक्लो प्रयासले डेंगु नियन्त्रण हुँदैन।

पानी जमेको भाँडाको पानी पोख्दा मजाले मस्काएर पोख्ने र पखाल्ने गर्नुपर्छ नत्र फेरि पानी भर्दा या जम्दा लामखुटेको अण्डा जीवित हुन्छ।डेंगु नियन्त्रणका लागि सम्पूर्ण राजनीतिक दल, समाजसेवी, स्थानीय तह, सुरक्षा निकाय, टोल सुधार समिति, महिला समूह, विभिन्न संघसंस्था, शिक्षक, विद्यार्थी, व्यापारी तथा आम नागरिकले आउँदो कात्तिकसम्म हरेक हप्ता सरसफाइमा ध्यान दिनुपर्ने डा. झा बताउनुहुन्छ।

 

यति नै बेला कृषि मन्त्री, नेता झलनाथ खनालका छोरा, ३ नं प्रदेशका मुख्य मन्त्रीमा पनि डेंगुको संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परिक्षण गराई प्रमाणित भइसकेको अवस्था हो।य

ति मात्र नभई टेकु अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू १३ जना, धुलिखेल अस्पतालका एक जना प्राध्यापकलगायत काभ्रे जिल्लामा ६ जना सर्वसाधारणमा डेंगुको संक्रमण भएको र सबैजना उपचारपछि घरमै आराम गरिरहेको बुझिएको छ।

यतिमात्र नभई अर्को डरलाग्दो स्क्रप टाइफसले पनि यतिबेला नै सताएको छ।काभ्रेमा पनि स्क्रप टाइफसका बिरामी प्रशस्त मात्रामा देखिएको डा. झा बनाउनुहुन्छ। डा. झाका अनुसार डेंगु नियन्त्रणका नाममा विषादी छर्कनुहुन्न। यसले वातावारण प्रदूषण गर्छ।

विषादीले डेंगु संक्रमित अण्डा नष्ट हुँदैन, झन् नयाँ लामखुट्टे विषादी पचाउन सक्ने हुन्छ। अन्य परजीवी नष्ट हुँदा वातावरण प्रदूषित हुन जान्छ। वातावरण परिवर्तनकै कारण रोगव्याधी र संक्रमण हुने हुनाले थप प्रदूषित पार्ने अभियान रोक्नु नै बुद्धिमानी हुन्छ।

सरकारले यतिबेला डेंगु नियन्त्रणका लागि गाउँगाउँसम्म जनचेतना र उपचारका लागि छुट्टै बजेटका साथै जनशक्ति र किटको व्यवस्था गर्नुपर्ने हुन्छ।

हालसम्म सरकारी तथ्यांकअनुसार परीक्षणमा आएका झन्डै ७ हजार व्यक्तिमा डेंगु प्रमाणित भएको र ७ जनाको डेंगुका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।‘

९० प्रतिशत डेंगु संक्रमितमा कुनै लक्षण नै देखिँदैन र परीक्षणमा आएकै हुँदैनन्।यो उल्लेख गरिएको संख्या लक्षणका आधारमा परीक्षण गरी प्रमाणित भएका मात्र हुन्।त्यसैले डेंगुमा बढी मात्रामा झोल पदार्थ खाने र आराम गरेमा निको हुन्छ आतिनुपर्दैन।’ –डा. झा भन्नुहुन्छ।

डेंगुका मुख्य लक्षणहरू 
  • वाक्वाकी लाग्नु 
  • शरीरमा बिमिरा आउनु 
  • जोर्नी तथा मांसपेसी दुख्नु 
  • टाउकोको पछिल्लो भाग दुख्नु 
  • आँखाको गेडी दुख्न 
  • अत्यधिक टाउको दुख्नु
  • एक्कासि उच्च ज्वरोआउनु। 
बच्ने उपाय
  • घर आँगन सरसफाइका माध्यमबाट लामखुट्टे, लार्भा र अण्डाको वासस्थान नष्ट गर्ने।
  •  खाली बट्टा, टिन, ड्रम, पुराना टायर, गमलाको पिँधमा रहेको पानी खाली गर्ने र कुलर नियमित सरसफाइ गर्ने।

     
  •  पूरा शरीर ढाक्ने खुकुलो कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्ने। 
  •  डेंगु ज्वरोको शंका लाग्नेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्ने।

प्रतिक्रिया दिनुहोस्