राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा गिरी



राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा मन्त्रिपरिषद्को बैठकले वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ।

उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले उपलब्ध गराएको तीन जना डाक्टरमध्ये प्राडा गिरीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।

समितिले प्राडा गिरीसहित प्राडा सुरेन्द्र शेरचन र प्राडा शम्भुकुमार पहारीलाई सिफारिस गरेको थियो। प्राडा गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ।

उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर हुनुहुन्छ। यसका साथै चिकित्सा शिक्षा ऐनअनुसार शुल्क निर्धारण समितिको सदस्यका रूपमा समेत काम गरिसक्नुभएको छ।
९ जनाले उपाध्यक्ष पदका लागि निवेदन दिएकोमा साउन २८ र २९ गते अन्तर्वार्ता लिई समितिले ३ जनाको नाम सिफारिस गरेको थियो।

उपाध्यक्षका लागि निवेदन स्वीकृत भएकाहरूमा प्राडा श्रीकृष्ण गिरी, प्राडा शम्भुकुमार पहारी, प्राडा सुरेन्द शेरचन, प्राडा राजेन्द्रप्रसाद साह, प्राडा रमेशचन्द सिंह, प्राडा यहुनचन्द्र शिवाकोटी, प्राडा तरुण पौडेल, डा. नीलमणि उपाध्याय र प्राडा पारसकुमार पोखरेल रहेका थिए।

 

आवेदकहरूले समितिसमक्ष चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्वदायी भूमिका वहन गर्नेसम्बन्धी सोचपत्र तथा ४ वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण
गरेका थिए।

प्रतिक्रिया दिनुहोस्