डा. विश्वबन्धुको मान्छेको मन बजारमा



bhanu bhokhim.indd

वरिष्ठ मनोरोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा मनोचिकित्सकका रूपमा मुलुकमै स्थापित नाम हो।पूर्व भियतसंघबाट चिकित्साशास्त्र तथा मनोरोगशास्त्रमा अध्ययन गर्नुभएका नेपालका पायनियर उनै चिकित्सकद्वारा लिखित पुस्तक ‘मान्छेको मन’ शनिबार काठमाडौंमा सञ्चारकर्मी र चिकित्सकका बीच एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो।

पुस्तकका लेखक डा. शर्मा भन्नुहुन्छ– ‘किताब प्रकाशित भएका दिन म बेल्जियममा थिएँ। परिवारका सदस्य र प्रकाशकले खबर गर्नुभयो ममा त्यतिबेला असीम खुसी पैदा भयो।चार दशक लामो मानसिक बिरामीको उपचारमा आफू अनवरत यात्रा गर्दाका तितामिठा भोगाइको सँगालो हो यो पुस्तक। व्यस्त समयमा नै थोर बहुत समय निकाली पुस्तक निकाल्नु उचित ठानें।

सामान्य अवस्थामा सामान्य मान्छेले गर्न नसकिने काम गर्दै यहाँ पुगें।’ यो किताबमा बिरामीको सेवा निःस्वार्थ भावले गर्दा गर्दै एक दिन सार्वजनिक सवारीसाधनको यात्रामा गुण्डाहरूले आक्रमण गर्दा सोही गाडीका चालकले ज्यान बचाइदिएर नयाँ जीवन पाएको घटना सुनाउनुभयो।

डा. शर्मा भन्नुहुन्छ– ‘बिरामीलाई सेवा गर्दा बिरामीका आफन्तले नबुझेर लगाएका लान्छनादेखि उपचारपछि निको भएर उच्चस्तरीय जीवनयापन गरेका बिरामीको समेत चित्रण गरी पुस्तकमा समेटिएको छ।’‘जस्तोसुकै कठिन अवस्थामा पनि बिचलित नभई मन, वचन र कर्मले बिरामीको सेवा भावलाई उच्च राख्दै गरेका कामको सँगालो हो यो पुस्तक।

 

पहिलादेखि नै डायरीमा कुनै पनि विषयलाई लिपिबद्ध गर्ने बानी नभएकाले विषयवस्तुको लेखा दिमागमा संकलन गरेको छु।हरेक विषयलाई चाहेको बेला दिन सक्छु एउटै कुरा मिति भन्न सक्दिनँ। परिवारको समेत माया ममता गुमाएर सडकमा पुगेका व्यक्तिको उपचार गरेर पुनः घर फर्काउँदा समेत कति परिवार खुसी भए, कतिले गलत आरोप लगाएका पनि छन्।

त्यसमा मेरो कुनै गुनासो छैन बरु बिरामी निको भयो र बिरामीको मनमा मेरो सेवा भावको छाप परिरहेको पाउँछु यो नै मेरो जीवनको सफलता हो।’ –डा. शर्मा भन्नुहुन्छ।मान्छेको मन महासागरभन्दा विशाल छ। कहिले दौडिन्छ त कहिले स्थिर भइदिन्छ। मान्छेको मन वास्तवमै रहस्यमय छ।

मन सधैं सन्तुलित हुँदैन कहिलेकाहीं बाटो बिराउँछ, भड्किन्छ र व्यवस्थापनले नै सन्तुलिन गर्नुपर्छ भन्ने भावना लिएर अघि बढ्नुभएका डा. शर्माको पुस्तक वास्तवमै एकपटक पढ्नै पर्नेछ।

वर्षौंदेखि तिनै बिचलित मनलाई पढेर व्यवस्थापनमै आफ्नो समय व्यतीत गर्दै आउनुभएका डा. शर्मा बिरामीका मनलाई मात्र होइन, आफ्ना अनुभव र भावनालाई पनि मान्छेको मन पुस्तकमा सन्तुलित गर्ने कार्यमा जुट्नुभएको पाइन्छ। पुस्तकमा घटनाक्रमलाई अत्यन्तै सरल र सरस भाषामा सिलसिलेवररूपमा पस्किनुले पाठकको मन चसक्क हुन्छ।

पुस्तकको भूमिकामा लेखकले उल्लेख गर्नुभएको एक अंशमा उल्लेख गरिएको छ– ‘अनियन्त्रित बनेका मानिसको मनलाई लगाम लगाएर शान्त पार्नु र सामान्य अवस्थामा फर्काउनु चुनौतीपूर्ण कार्य हो।बाटो बिराएर भौंतारिएका कतिपयका मनलाई पहिले जस्तै दुरुस्त बनाउन सकियो भने कतिपयका मनलाई सक्दो कोसिस गर्दा पनि ठीक ठाउँमा ल्याउन असम्भव भएको अनुभव पनि गरियो।’

ट्युसन पढ्दा शिक्षक र विद्यार्थीसँगको आदर प्रेममा परिणत हुँदा केटीलाई भगाएर शिक्षकले लगे पनि केटीको परिवारले फर्काएर ल्याएपछि केटीको मानसिक समस्या भएको र उपचार नै गर्नुपरेको घटना मात्र होइन, केटीले शिक्षकलाई गुरुको भावले हेरेको र गुरुले केटीलाई मनपराएको कुरा व्यक्त गर्न नसक्दा मानसिक समस्या भएर उपचार गर्दा पनि पटकपटक रोग बल्झिएका घटना पनि पुस्तकमा समेटिएको छ। मानसिक समस्या भनेको मनको अस्थिरता हो।

 

कार्यक्रममा डा. रवीन्द्र समीरले मान्छेको मन पुस्तकले मानसिक स्वास्थ्यको इतिहास बोकेको छ। यो नेपाली साहित्यको संस्मरण विधा हो।यो पुस्तक स्थानीयस्तरदेखि राज्यका महत्वपूर्ण निकायका सबैले एकपटक पढेर हरेक दिन मानसिक समस्याका कारण हुने १६ जनाको अकाल मृत्युलाई न्यूनीकरण गर्ने बाटो खोज्न मदत मिल्ने बताउनुभयो।

पुस्तकका सम्पादक तथा साधना स्वास्थ्य मासिकका सम्पादक लक्ष्मण अधिकारीले डा. शर्माको अनुभव २५ प्रतिशत मात्र यो पुस्तकमा समेटिएको अभ्यासमा आधारित व्यावहारिक ज्ञानको खानी पुस्तक हो भन्नुभयो।

‘किताब लेखनका क्रममा मैले पाएको डा. शर्मा खुला किताब हो।’ –अधिकारीले भन्नुभयो।२०७६ भदौमा मञ्जरी पब्लिकेसनबाट प्रकाशित पहिलो संस्करण मान्छेको मन ३ सय ५४ पृष्ठको छ ।

 

पुस्तकको मूल्य ४ सय ८५ रुपियाँ रहेको छ। पुस्तक मानसिक बिरामी र तिनका परिवारप्रति समर्पण गरिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्