बिकटमा कहाँ पाउनु ठूला अस्पताल ?



नेपाल समाचारपत्र, हेटौंडा।मकवानपुरको बिकट गाउँमा सुविधासम्पन्न अस्पताल कहाँ पाउनु ? भएका स्वास्थ्य चौकीहरूले नै जेनतेन सेवा दिँदै आएका छन्। अस्पतालको सेवा गाउँका स्वास्थ्य चौकीहरूले दिँदै आएका छन्।

बिकटका स्वास्थ्य चौकीमा दक्ष डाक्टर जानै नमान्ने, गए पनि लामोे समय नटिक्ने र आवश्यक उपकरण अभाव आदिले समस्या निम्त्याइरहेको छ।

हाल देशभर देखिएको डेंगुको त्रासमा बिकट राक्सिराङ गाउँपालिकामा पनि देखिँदा गाउँपालिकाले डेंगु रोग लागेका पालिकाका बिरामीलाई यातायात र खाना खर्च दिने निर्णय गर्नु यही बाध्यताका कारण देखिएको छ।

पालिकाले बिरामीलाई यातायात र खाना खर्चबापत् जनही ३ हजार रुपियाँ दिने निर्णय गरेको हो।गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्य संस्था नभएकाले मनहरी, हेटौंडा वा चितवनका अस्पताल पुग्नुुपर्ने बाध्यता रहँदा यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो।

गाउँपालिकामा साबिकका चार गाविसतर्फ १/१ स्वास्थ्य चौकी छन्। स्वास्थ्य चौकीहरूमा डेंगुको चिकित्सकीय सेवा नभएकाले डेंगुसंक्रमण भएको पहिचान गर्न पालिका बाहिर जानुपर्ने बाध्यता छ स्थानीय बिरामीलाई। हालसम्म राक्सिराङका २ जनामा डेंगु संक्रमण देखिएको छ।

डेंगु पहिचानको बाध्यतामा सहजताका लागि गाउँपालिकाले हरेक स्वास्थ्य चौकीमा ३० थानका दरले डेंगु परीक्षण किट पठाएको उहाँले बताउनुभयो।

डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु किट परीक्षण तरिका सिकाएर गाउँ पठाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो।

‘अब गाउँमै डेंगु परीक्षण हुन्छ’, पालिकाका स्वास्थ्य संयोजक विजय कापरीले भन्नुभयो– ‘रगत परीक्षणपछि डेंगु प्रमाणित भए ३ हजार रुपियाँ नगद दिएर डेंगुका बिरामीलाई उपचारका लागि अस्पतालमा पठाइने छ।’

मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि उक्त गाउँपालिकाले एक सय थान डेंगु परीक्षण किट प्रदान गरेको छ। गाउँपालिकाका अधिकांश बिरामी सोही स्वास्थ्य केन्द्र आउने हुँदा सुबिधाका लागि किट प्रदान गरिएको अध्यक्ष मल्लले जनाउनुभयो।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि डेंगुका बिरामीलाई मध्यनजर गर्दै परीक्षण किट हस्तान्तरण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगर मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्ने किट हस्तान्तरण गर्नुभएको हो।

उपमहानगरले ३ सय ३१ वटा किट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसियन राजकुमार इटेनीलाई हस्तान्तरण गरेको हो।

नगरवासीले तिरेको करले उपमहानगरपालिका चलेकोले नगरवासी बिरामी पर्दा सहयोग गर्ने प्रयास गरिएको मेयर महतले बताउनुभयो।

जिल्ला स्वास्थ्य कार्यालय र हेटौंडा अस्पताल प्रदेश सरकारमातहत भए पनि नगरवासीको हितका लागि डेंगु किट सहयोग गरिएको मेयर महतले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्