एकै रात सात घरमा चोरी



नेपाल समाचारपत्र, पर्वत।पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको लोप्रे गाउँमा एकै रात सात घरमा शृङ्खलाबद्ध चोरी भएको छ।

अधिकांश घरमा कोही नभएको अवस्थामा बिहीबार राति घर फोडेर झण्डै २ लाख नगद र ६ तोला सुन चोरी भएको हो।

स्थानीयवासीले दिएको जानकारीअनुसार जलजला–५ लोप्रेका तीर्थबहादुर पुनको घरबाट ६ तोला सुन र २५ हजार नगद चोरी भएको छ भने लालमा अर्मजाको घरबाट १ लाख ३१ हजार नगद चोरी भएको छ।

सोही ठाउँका प्रेमबहादुर पुनको घरबाट १२ हजार नगद, रामसिंह पुनको घरबाट ९ हजार नगद तथा रिममाया पुनको घरबाट ८ हजार नगद चोरी भएको छ।

स्थानीय लिलबहादुर पुर्जा र तुलबहादुर पुनको घरमा चाबी फोडे पनि कसैको धनमाल नहराएको स्थानीयले जानकारी दिएका छन। लालमा अर्मजाले कोदोको भकारीमा लुकाएर राखेको अवस्थामा १ लाख ३१ हजार रुपियाँ चोरी भएको छ।

चोरी भएको समयमा अधिकांश घरमा कोही पनि नभएको र कसैको गोठ तथा कोठामा सुतेको अवस्थामा घर फोडेर चोरी भएको छ। सोही रात लोप्रेको छिमेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका नाँगी गाउँमा पनि ९ घरमा चोरी भएको छ।

सबै घरमा मान्छे नभएको र एकै स्थानमा चोरी भएका कारण चिनेजानेका वा स्थानीयको बारेमा जानकारी लिएका व्यक्तिबाट चोरी भएको आशंका गरिएको छ।

घटनाको जानकारीपछि लेकफाँट प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान थालेको थियो भने जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट विशेष टोली परिचालन गरेर लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्