सीटीईभीटीमा ११ बुँदे माग राख्दै कर्मचारीको धर्ना



पुष्कर बुढाथोकी, भक्तपुर। संगठनको संस्थागत हक हित र कर्मचारीको वृत्ति विकासको सवालमा व्यवस्थापनसँग मौखिक र लिखित ११ बुँदे माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) राष्ट्रिय कर्मचारी संगठनका कर्मचारी आन्दोलित भएका छन्।

सोमबार उनीहरूले सीटीईभीटी कार्यालयमा धर्ना दिएका छन्। राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष तेजबहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि मागहरूको सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो।

उहाँले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा आफूहरूका मागलाई पूरा नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो।

चाँडै नै माग पूरा नभए सीटीईभीटीअन्तर्गतका ४७ वटा केन्द्रका ६ सय कर्मचारीले एकसाथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो।

आन्दोलनमा संगठनका महासचिव नारायण सुवेदीले व्यवस्थानलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि मागहरू पूरा गर्न आलटाल गरेकाले अझ आन्दोलनलाई सशक्त बनाएर अघि बढ्ने उहाँले बताउनुभयो।

पटकपटक मागहरू मौखिक रुपमा जाँदासमेत मागको सम्बोधन नभएपछि आगामी दिनमा आन्दोलनलाई देशव्यापी बनाउन तयारी गरिराखेको उहाँले बताउनुभयो।

परिषद्का सदस्य सचिव डा. पुष्परमण वाग्लेले सबै कर्मचारीका माग जायज भएको बताउँदै केही माग पूरा भइसकेको र केही पूरा हुन बाँकी भएको बताउनुभयो। उहाँले पूरा हुन बाँकी मागहरू व्यवस्थापन समितिको छलफलपश्चात मात्र सम्बोधन हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्