चार सय सामुदायिक विद्यालयमा दृष्टि जाँच



भक्तपुर, (नेस)।बीपी नेत्र प्रतिष्ठानले नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा प्रदेश ३ अन्तर्गतका ६ जिल्लाका सामुदायिक विद्यालयहरूमा दृष्टि जाँच कार्यक्रक सञ्चालन गर्ने भएको छ।

कार्यक्रम भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र मकवानपुरमा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।

भक्तपुरमा सरोकारवालालाई अभिमुखीकरण गरी शुरु भएको यस अभियानअन्तर्गत विद्यार्थीलाई दृष्टि जाँचसम्बन्धी तालिम दिई उनीहरूद्वारा नै आफ्ना सहपाठीको दृष्टि जाँच गरिने आयटरिच तथा तालिम संयोजक राम केसीले बताउनुभयो।

आँखाको समस्याका कारण विद्यार्थीको पढाइसमेत कमजोर हुने गरेको तथ्य उल्लेख गर्दै केसीले बाँके, बर्दिया, सुर्खेत र जाजरकोटमा यो कार्यक्रम सञ्चालन गरिसकिएको बताउनुभयो।

उहाँले नमुना परीक्षणका क्रममा विद्यालय पढ्ने २० देखि २५ प्रतिशत विद्यार्थीमा दृष्टिदोष पाइएको बताउनुभयो। यो कार्यक्रम देशभर लान सके विश्वमै उदाहरणीय हुने र त्यो पहल भइरहेको बताउँदै संयोजक केसीले अन्धोपन निवारणमा विद्यार्थीको प्रयोगबाट प्रभावकारी देखिएको उल्लेख गर्नुभयो।

प्रत्येक जिल्लाका जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका २० वटा विद्यालयका दरले जम्मा १ सय २० विद्यालयका गरिब करिब २४ हजार विद्यार्थीको आँखा परीक्षण गरी निःशुल्क आँखा जाँच तथा चस्मा बितरण गरिने भएको छ।

परियोजनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्ला र स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी प्राथमिकताको आधारमा विद्यालय, स्वास्थ्यकर्मी, शिक्षक विद्यालय व्यवस्थापन प्रतिनिधि र विद्यार्थी छनोट गरी तालिम सञ्चालन गरिने बताइएको छ।

परियोजनअन्तर्गत विद्यार्थीद्वारा सहपाठीको दृष्टि जाँच गरी थप उपचार आवश्यक पर्नेको नजिकैको चश्मा पसल र अाँखा उपचार केन्द्रमा थप जाँच गरी दृष्टि कमजोर भएका विद्यार्थीलाई चश्मा बितरण गरिने केसीले बताउनुभयो।

विद्यालयलाई आँखा जाच्नका लागि विभिन्न ८ सामग्री पनि उपलब्ध गराइने उहाँले बताउनुभयो।नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर शाखा सभापति मनोज थापाले परियोजनाअन्तर्गत नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा निःशुल्क चश्मा बितरण गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्