ग्यास्ट्रिकबाट बच्न केके कुरामा ध्यानदिनुपर्छ ? जानीराखाैं



न्युज अफ नेपाल, काठमाडौँ । अहिलेको समयमा ग्यास्ट्रिक नभएको नेपााली भेटाउन गाह्रो हुन्छ ।मानिसको अल्छीपनाले ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । खाना र व्यायाममा ध्यान नदिँदा र बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो ।

                                                              ग्यास्ट्रिकका लक्षण

यसका लक्षणलाई यसरी उल्लेख गर्न सकिन्छः

ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउँछ । ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटुवरिपरिको क्षेत्र दुखेको अनुभव हुनेलगायतको लक्षण देखाउँछ ।

                                                         ग्यास्ट्रिकबाट बच्ने उपाय

                                   ग्यास्ट्रिकबाट बच्ने उपायलाई यसरी बताउन सकिन्छः

ग्यास्ट्रिकबाट बच्नका लागि रहनसहन र खानपिनले ठूलो भूमिका खेल्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले ग्यास्ट्रिक नहुन सक्छ । रातको समय लगातार ७–८ घन्टाको सुताइले शरीरमा पानीको अभाव हुन जान्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउन आवश्यक हुन्छ । तर, उठ्नेबित्तिकै जुसको भने प्रयोग गर्नु हुँदैन । खाली पेटमा यस्ता पेय पदार्थ खाँदा पेटमा ग्यास भरिन जान्छ ।

ग्यास्ट्रिक भएमा समय–समयमा खाना खाइरहनुपर्छ । खाली पेट बस्ने भूल गर्नु हुँदैन । यसरी खाली पेट बस्दा ग्यास्ट्रिकको मात्रा बढ्दै जान्छ ।

तारेको र भुटेका खाद्य पदार्थ निकै कम प्रयोग गर्नुपर्दछ । यस्ता खाद्य पदार्थको नियमित प्रयोगले पाचन प्रक्रियामा समस्या सिर्जना गर्छ र ग्यास्ट्रिक बढ्न जान्छ ।

ग्यास्ट्रिक हुनेहरू अल्कोहलबाट टाढै रहनुपर्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्छ । यस्तो कुरामा सचेत हुनुपर्छ । शारीरिक श्रम र व्यायाम नगर्नेहरूलाई पनि ग्यास्ट्रिक हुन्छ ।

धूम्रपान, चिया–कफी बढी पिउँदा पनि ग्यास्ट्रिक बढ्छ । ग्यास्ट्रिक हुनेले निकै कम मात्रामा चिया पिउनुपर्छ ।

योगबाटै निको पार्न सकिन्छ
नियमित योग गर्दा पनि ग्यास्ट्रिकरहित बन्न सहयोग पुग्छ । ग्यास्ट्रिक निको पार्न गरिने योगका आफ्नै नियम छन् । त्यसका लागि पहिले ढाड र गर्दनलाई सीधा राखेर बस्नुपर्छ । त्यसपछि जोडसँग श्वास लिएर फ्याक्नुपर्छ । यस्तो क्रियाकलाप पटक–पटक गर्न जरुरी हुन्छ । तर, यस्तो योग खाली पेटमा भने गर्नु हुँदैन ।

ग्यास्ट्रिकबाट बच्न अर्को तरिकाले पनि योग गर्न सकिन्छ । त्यसका लागि दुवै खुट्टा जोडेर घोप्टो परी सुत्नुपर्छ । त्यसपछि दुई हत्केलाले भुइँ टेकेर आकाशतर्फ हेर्नुपर्छ । त्यसपछि बिस्तारै श्वास लिँदै छाती फुलाउनुपर्छ । त्यसपछि केहीछिन श्वासलाई रोक्ने कोसिस गर्नुपर्छ । त्यसपछि श्वास छाडेर पहिलेकै अवस्थामा फर्कनुपर्छ । नाडीशोधन योग गरेर पनि ग्यास्ट्रिक निर्मूल पार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्