सीटीईभीटीका कर्मचारी आन्दोलनमा उत्रिए



न्युज अफ नेपाल, भक्तपुर ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी सङ्गठनका कर्मचारीले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

सङ्गठनको संस्थागत हकहित र कर्मचारीहरुको वृत्ति विकासका सवालमा व्यवस्थापनसँग मौखिक र लिखित माग राख्दै आजदेखि कर्मचारीले सीटीईभीटीमा धर्ना दिएका छन् ।

राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष तेजबहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि मागहरुको सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण गर्दै अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा हाम्रो जायज मागलाई पूरा नगरेकाले बाध्य भएर आन्दोनमा उत्रिएको बताउनुभयो ।

चाँडै नै हाम्रो माग पूरा नभए सीटीईभीटीअन्तर्गतका ४७ वटा र केन्द्रका ६०० कर्मचारीका साथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

सङ्गठनका महासचिव नारायण सुवेदीले व्यवस्थानलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि हाम्रो जायज मागहरु पूरा गर्न आलटाल गरेकाले अझ आन्दोलनलाई सशक्त बनाएर अघि बढ्ने बताउनुभयो ।

हाम्रो मागको सम्बोधन गर्न ढिलाइ भएमा चरणबद्ध रुपमा आन्दोलनलाई प्रभावकारी बनाउने सङ्गठनका उपाध्यक्ष सोस्थानी हमालको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले सबै मागहरु जायज भएको बताउँदै केही मागहरु पूरा भइसकेको र केही मागहरु पूरा हुन बाँकी भएको बताउनुभयो । उहाँले पूरा हुन बाँकी मागहरु व्यवस्थापन समितिको छलफलपश्चात मात्र सम्बोधन हुने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्