एकैरात सात घरमा चोरी, दुई लाख नगद र ६ तोला सुन लुटियो



न्युज अफ नेपाल, पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँटको लोप्रे गाउँमा एकै रात सात घरमा श्रृङ्गखलाबद्ध चोरी भएको छ ।
अधिकाँश घरमा कोही नभएको अबस्थामा बिहीबार राती घर फोडेर झण्डै दुई लाख नगद र ६ तोला सुन चोरी भएको हो । स्थानियबासीले दिएको जानकारी अनुसार जलजला ५ लोप्रेका तिर्थबहादुर पुनको घरबाट ६ तोला सुन र २५ हजार नगद चोरी भएको छ भने लालमा अर्मजाको घरबाट १ लाख ३१ हजार नगद चोरी भएको छ । सोही ठाउँका प्रेमबहादुर पुनको घरबाट १२ हजार नगद, रामसिंह पुनको घरबाट ९ हजार नगद तथा रिममाया पुनको घरबाट ८ हजार नगद चोरी भएको छ । स्थानिय लिलबहादुर पुर्जा र तुलबहादुर पुनको घरमा चाबी फोडेपनि कसैको धनमाल नहराएको स्थानियबासीले जानकारी दिएका छन । लालमा अर्मजाले कोदोको भकारीमा लुकाएर राखेको अबस्थामा १ लाख ३१ हजार रुपैंया चोरी भएको छ ।

चोरी भएको समयमा अधिकाँश घरमा कोही पनि नभएको र कसैको गोठ तथा कोठामा सुतेको अबस्थामा घर फोडेर चोरी भएको छ । सोही रात लोप्रेको छिमेकी म्याग्दीको अन्नपुर्ण गाउँपालिका नाँगी गाउँमा पनि ९ घरमा चोरी भएको छ । सबै घरमा मान्छे नभएको र एकै स्थानमा चोरी भएका कारण चिनेजानेका वा स्थानियको बारेमा जानकारी लिएका ब्यक्तिबाट चोरी भएको आशंका गरिएको छ ।

घटनाको जानकारी पछि लेकफाँट प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान थालेको थियो भने जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बिशेष टोली परिचालन गरेर लुटेराको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्