भालुको आक्रमणबाट गम्भीर घाइते   



डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।

बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएकाे छ ।

भालुको आक्रमणमा परी गम्भीर घाइते भएका साउदलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीयले जानकारी दिएका छन् । उनले भने, “भालुको आक्रमणबाट साउद अचेत अवस्थामा थिए, जिल्लामा उपचार हुन नसक्ने भएपछि बयलपाटा लगिएको हो ।” डोटीमा जङ्गली भालुको आक्रमणमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने करीब २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट वर्षेनी जङ्गली भालुलगायतका अन्य जनावरहरु गाउँघरमा आहारको खोजी गर्दै आउने र स्थानीयवासीलाई आक्रमण गर्ने गरेको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्