विद्युत् प्राधिकरणले स्वचालित बिलिङ लागू गर्ने



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नु भएको छ।

उहाँले तीन वर्षको अवधिमा मुलुकलाई लोडसेडिङमुक्त बनाएको, घाटामा गएको प्राधिकरणलाई नाफामा लगेको लगायतका उपलब्धिहरू प्रस्तुत गर्नुभएको छ। प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले करिब २४५ युनिट पुगेको उहाँको दाबी छ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३/७४ मा रु १ अर्ब ४७ करोड, आव २०७४/७५ मा २ अर्ब ८५ करोड र आव २०७५/७६ मा ७ अर्ब २० करोड खुद नाफामा गएको छ।

आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव २०७५/०७६ मा १५ अर्ब २२ करोडमा झार्न सफलको घिसिङको भनाइ छ।

आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव २०७५/०७६ मा ७३ अर्ब ४६ करोडमा पुगेकोे उल्लेख गर्नुभएको छ।

२५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावटलाई १५ दशमलव ३२ प्रतिशतमा झार्दै चुहावट नियन्त्रणबाट प्राधिकरणले वार्षिक ७ अर्ब थप आम्दानी गरेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।

घिसिङले आफ्नो आगामी कार्ययोजनामा प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने, आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गर्ने, सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्ने, जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनालार्ई गेम चेन्जर आयोजनाको रूपमा अगडि बढाउने घिसिङको लक्ष्य रहेको छ।

त्यस्तै मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू गर्ने, आधुनिक एवम् नवीनतम् सूचना प्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ, सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत् चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस्