पहिरोको उच्च जोखिममा सिंगटी बजार



नेपाल समाचारपत्र, दोलखा। लगातारको वर्षाका कारण दोलखाको उत्तरी व्यापारिक केन्द्र सिंगटी बजार पहिरोको उच्च जोखिममा परेको छ।

२०७२ सालको भूकम्पपछि उच्च जोखिमको क्षेत्र भनी सिंगटी बजारलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भूगर्वसंग सम्बन्धित विज्ञहरूको सुझाव रहेको भए पनि उचित विकल्प नभएपछि स्थानीय जोखिम मोलेर नै बस्दै आएका छन्।

दोलखाको कालिन्चोक र विगु गाउँपालिकाको सिमानामा रहेको सिंगटी बजारको कालिन्चोक गाउँपालिका– ३ मा पर्ने क्षेत्रमा पहिरो जाँदा ५ घर विस्थापित भएको र झण्डै एक दर्जन घरहरू उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुन्जीत तमाङले बताउनुभयो।

पहिरोका कारण २८ जना व्यवसायीको क्षति पुगेको र १२ जना व्यवसायी जोखिममा परेको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो। क्षतिको पूर्ण विवरण प्राप्त भइ नसके पनि पहिरोका कारण व्यवसायी र स्थानीयको ३० करोडभन्दा बढीको क्षति पुगेको अध्यक्ष श्रेष्ठको अनुमान छ।

कालिन्चोक र विगु गाउँपालिकाका प्रमुख, उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, दैवी प्रकोपसंग सम्बन्धित काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखा, सिंगटी बजार व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि र पहिरो पीडितहरूको संयुक्त बैठकले पीडितलाई उचित राहत दिने, विस्थापितलाई सुरक्षित ठाउँमा राख्ने, पहिरो तथा तामाकोसी नदीले कटान गर्ने अवस्थाको व्यवस्थापनका लागि सरोकारवाला निकायलाई काम गर्न आग्रह गर्नेलगायतका विषयमा छलफल भएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष सुन्दर श्रेष्ठले बताउनुभयो।

निरन्तर वर्षा भइरहेकाले पहिरो नियन्त्रणका लागि तत्काल काम नगर्ने हो भने अझ ठूलो क्षति हुनसक्ने दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका पूर्वअध्यक्ष सुन्दर श्रेष्ठ बताउनुहुन्छ।

सिंगटीलाई प्राकृतिक प्रकोपबाट जोगाउन बृहत योजना आवश्यक रहेको र त्यसका लागि वडाको बजेट मात्र पर्याप्त नहुने भएकाले गाउँपालिका, प्रदेश र केन्द्रीय सरकारले समेत सहयोग गर्नुपर्ने कालिन्चोक गाउँपालिका–३ का वडा अध्यक्ष निसान बुढाथोकी बताउनुहुन्छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता स्थानीय कुलबहादुर बुढाथोकी योजनाबिना स्थानीय तहले सडक खनेको र सडकमा नाला व्यवस्थापन नगरेका कारण सिंगटी बजार उच्च जोखिममा परेको बताउनुभयो। उहाँले सडक निर्माणलगायतका विकासे योजना बनाउँदा डीपीआर तयार गरेर मात्र अगाडि बढाउन स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो।

दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले सिंगटी बजार पहिरोको उच्च जोखिममा रहे पनि व्यवसायी आफ्नो घर व्यवसाय छोडेर अन्यत्र जाने अवस्था नभएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले सिंगटीको पहिरो नियन्त्रणका लागि संयुक्त योजना तयार गर्नुपर्ने बताउनुभयो।

पहिरोले सिंगटीका धेरै व्यवसायी विस्थापित भएपछि दोलखा उद्योग वाणिज्य संघले पनि चासो देखाएको छ। संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र उपाध्यक्ष सनत थापाले बिहीबार सिंगटीको स्थलगत अवलोकन गर्दै पीडित व्यवसायीहरूको राहतका लागि संघले आवश्यक सहयोग गर्ने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्